Logo
Logo

अस्ट्राजेनेका खोपमा कुनै खराबी नरहेको विश्व स्वास्थ्य संगठनको दाबी


दृष्टि संवाददाता


काठमाडौं । अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको कोरोना भाइरस विरुद्ध अस्ट्राजेनेका खोप सुरक्षित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । खोप लगाएका व्यक्तिमा रगत जमेको साइड इफेक्टहरु भएको भन्ने विवरणहरु सार्वजनिक भएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ति खोप सुरक्षित रहेको र त्यसका खराबी नरहेको बताएको हो ।

 

अस्ट्राजेनेका कम्पनी र युरोपेली औषधि नियामक निकायले पनि उक्त खोज सुरक्षित रहेको दाबी गरेको छ । डब्लूएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले सर्वसाधारणलाई नआत्तिन र अस्ट्राजेनेका खोप लगाउने कार्यलाई निरन्तरता दिन आग्रह गरेकी छन् ।

डब्लूएचओ र ईएमएका विज्ञहरूले अस्ट्राजेनेका खोप अभियानसँग सम्बन्धित विवरणको अलग–अलग अध्ययन गर्ने बताएका छन् । ईएमएले अस्ट्राजेनेका खोपबारे विभिन्न देशहरूले गरेको दाबीबारे निर्णय लिन दुई दिनपछि विशेष बैठक गर्न लागेको जनाएको छ ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित युरोपेली क्षेत्रका कतिपय देशले खोपका कारण रगत जम्ने समस्या देखिएको भन्दै अस्ट्राजेनेका खोप लगाउन रोकेका छन् । मंगलबार जर्मनी, इटाली, फ्रान्स र स्पेनले पनि अस्ट्राजेनेका खोप लगाउन तत्कालका लागि रोकेको जनाएका छन् ।

यसअघि डेनमार्क, नर्वे, इटाली, अस्ट्रिया, आइसल्यान्ड, बुल्गेरियाले पनि अस्ट्राजेनेका खोप प्रयोग रोकिसकेका छन् । विश्व बजारमा सबैभन्दा सस्तो अस्ट्राजेनेका खोप अर्थतन्त्र कमजोर भएका देशले प्रयोगमा ल्याउने सम्भावना छ । तर इन्डोनेसियाले सोमबार यो खोप लगाउन रोकेको छ भने भेनेजुएलाले प्रयोग नगर्ने घोषणा गरिसकेको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको खोप हालसम्म युरोपका १ करोड ७० लाख जनाले लगाइसकेका छन् । तर रगत जम्ने समस्या ३७ जनामा मात्र देखिएको र त्यो खोपका कारण नभएको अस्ट्राजेनेकाले जनाएको छ । खोप लगाएका अन्य मानिसमा भने गम्भीर प्रकृतिका स्वास्थ्य समस्या देखिएको छैन ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खोपमा कुनै समस्या नरहेको भन्दै नागरिकलाई खोप लगाउन आग्रह गरेका छन् । तर भाइरस नियन्त्रणमा कठिनाइ भइरहेकै अवस्थामा अस्ट्राजेनेका खोपप्रति मानिसमा त्रास बढेको छ ।

प्रतिक्रिया दिनुहोस्