Logo
Logo

नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा


दृष्टि संवाददाता


काठमाडाैं । नेपालकै सबैभन्दा ठूलो बैंक बन्ने गरी नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । शुक्रबार मर्जरका लागि समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गर्ने गरी प्रक्रिया अघि बढेको भएपनि अन्तिम समयमा ‘केही काम बाँकी रहेकोले’ केही ढिलाई हुने देखिएको हो ।

मर्जरका लागि दुबै बैंकले सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गराई सकेका छन् । डीडीएले दुबै बैंकको सेयर अनुपात १ बराबर १ हुने गरी प्रतिवेदन सम्बन्धित बैंकलाई बुझाइ सकेको छ ।

‘डीडीएले सेयर मूल्यांकन एक सय र एक सय २ रुपैयाँ निकालेको छ, यो भनेको एक बराबर १ सेयर अनुपातमा नै मर्ज गर्न सकिन्छ भन्ने हो, अन्य विषय मिलिसकेपछि डीडीएका कारण समस्या वा विवाद नहोस् भनेर पहिला डीडीए गराइएको थियो, डीडीएले मर्जरका लागि सहयोग पुग्ने प्रकारको नतिजा दिएको छ, अब चाढै नै मर्जर होला,’ हिमालयन बैंकले भन्यो ।

मर्जरपछि बैंक संचालक समितिको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडे नै रहने सहमति भइसकेको छ । प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दुई जना रहने छन् । हिमालयन बैंकका सिइओ अशोक शमशेर राणा र नेपाल इन्भेष्टमेन्ट बैंकको सिइओ ज्योतिप्रकाश पाण्डे मर्जरपछिको बैंकको सिइओ रहने सहमति भएको हो ।

मर्जरपछिको बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक राख्ने पनि सहमति भइसकेको छ । दुबै बैंकका व्यवस्थापन र प्रमोटर मर्जरको लागि सहमत भएपनि सरकारी लगानीका कर्मचारी संचयकोष र नागरिक लगानी कोषको लगानी कसरी व्यवस्थापन गर्ने भन्ने विषयले केही ढिलाई भइरहेको बुझिएको छ ।

कर्मचारी संचयकोषको हिमालयन बैंकमा १४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकमा करिब १ प्रतिशत प्रमोटर शेयर छ । यस्तै, नागरिक लगानी कोषको नेपाल इन्भेष्टमेन्ट बैंकमा ३७ करोड ४९ लाख रुपैयाँ बराबरको संस्थापक सेयर छ ।

हिमालयन बैंकका काठमाडौं उपत्यकामा १८ र उपत्यका बाहिर ४७ गरी ६५ वटा शाखा छन् । यस्तै, काठमाडौं उपत्यकामा ४३ र उपत्यका बाहिर २९ गरी ७२ वटा एटिएम बुथ संचालनमा छन् । हिमालयन बैंकले १ खर्ब ९ अर्ब ७७ लाख रुपैयाँ कर्जा तथा लगानी (गत पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार) गरेको छ । सो अवधिसम्ममा बैंकसँग सर्वसाधारणको १ खर्ब २९ अर्ब ९२ करोड १७ लाख रुपैयाँ निक्षेप छ भने बैंकमा सेयरधनीको सम्पत्ति १७ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ छ ।

मर्जरपछि बैंकमा सर्वसाधारणको करिब ३ अर्ब रुपैयाँ निक्षेप हुनेछ भने २ खर्ब ५० अर्ब रुपैयाँको हाराहारीमा कर्जा तथा लगानी हुनेछ । बैंकमा सेयरधनीको सम्पत्ति ४७ अर्ब रुपैयाँको हाराहारीमा हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्