
काठमाडौं । सर्वसाधारण सेयरधनीक तर्फबाट अम्बिकाप्रसाद पौडैले नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा निर्विरोध चयन भएका छन्। बिहीबार मनोनयन दर्ता गराएका उनले निर्विरोध भएका हुन् । आज बिहान ११ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको लागि समय तोकिएको थियो ।
यद्यपि निर्वाचन प्रक्रियाअनुसार शुक्रबार बेलुकीसम्म कसैको दाबीविरोध परे त्यसउपर छानबिन हुने र अन्तिम नामावली भने चैत ८ गते प्रकाशित गरिने निर्वाचन अधिकृत दीपक सुवेदीले जानकारी दिए । एकभन्दा बढीको उम्मेदवारी परेको भए निर्वाचन गर्नुपर्ने बाध्यता हुन्थ्यो ।
सर्वसाधारण सेयरधनीको तर्फबाट पौडेलले आफ्नो मनोनयन दर्ता गराएका थिए । उनी सेयर बजारका अग्रणी लगानीकर्ताको रुपमा चिनिन्छन् । नेपाल टेलिकम सरकारको मुख्य लगानी रहेको पब्लिक कम्पनी हो जसको सञ्चालक समितिको अध्यक्षसहित अधिकांश सञ्चालक सरकारले नियुक्त गर्छ ।
पौडेल सेयर लगानीकर्ताहरुको संगठन नेपाल इन्भेस्टर्स फोरमको पुर्व अध्यक्ष पनि हुन्। उनीसमेत रहेको एक उच्च स्तरीय सरकारी समितिले नेपालको मुद्रा तथा पुँजी बजारको विकास तथा प्रबर्द्धनका लागि के के गर्नु पर्छ भनेर ५८ बुँदे सुझाब दिएको थियो।
टेलिकमको साधारणसभाले गत बर्षको नाफाबाट प्रस्ताव गरिएको ४० प्रतिशत नगद लाभांश पारित गर्नेछ।












