Logo
Logo
सौन्दर्य-कला

‘चिनीको प्रयोगले अनुहारको दाग र धब्बा हटाउन सकिन्छ’


डा. रेखा थापा


काठमाडौं । खानपान, हावापानी तथा अव्यवस्थित जीवनशैलीका कारण मानिसको शरीरमा अनेक समस्या उत्पन्न हुन्छ ।

सामान्यरुपमा देखिने समस्याले पनि मानिसको व्यक्तित्वमा नकारात्मक प्रभाव पार्छ । अनुहारको छालामा हुने समस्याले धेरै मानिस चिन्तित पनि छन् । तर, सामान्य सावधानी तथा घरेलु उपचार विधिले छालामा आउने दाग र धब्बाहरुलाई हटाउँदै आकर्षक बनाउन सकिन्छ ।

कुनै पनि वस्तुमा सकारात्मक र नकारात्मक दुवै गुण हुन्छ । घरेलु उपचार विधि प्रयोग गर्ने हो भने त्यस्ता वस्तुबाट सकारात्मक परिणाम पाउन सकिन्छ । त्यस्तै खाद्यवस्तु हो, चिनी । जसको सकारात्मक र नकारात्मक दुवै गुण छन् । चिनीको प्रयोगबाट हुने सकारात्मक परिणामबारे चर्चा गरौँ ।

चिनी भन्नेबित्तिकै चिया मिठो बनाउने गुलियो खाद्यवस्तु भनेरमात्र बुझिन्छ । हामी धेरैलाई थाहा छ, चिनी मिठो तर, स्वास्थ्यका लागि हानिकारक खाद्यवस्तु पनि हो । त्यसैले स्वास्थ्यप्रति सचेत मानिस आजभोली चिनीको प्रयोग कम गर्न थालेका छन् । तर, चिनीका यस्ता गुण पनि छन् जुन, गुण हाम्रा लागि फाइदाजनक हुन्छन् ।

हामीले किचनमा सधैँ प्रयोग गर्ने चिनीले हानीमात्र गर्दैन, छालामा एन्टिएजिङको कामसमेत गर्छ । चिनीको प्रयोगले छाला सधैँ चम्किलो र स्वस्थ्य राख्न सकिन्छ ।

चिनीमा हुने ग्लाइकोलिक एसिडले एन्टिएजिङको काम गर्छ । जसले छालालाई स्वास्थ्य राख्न मद्दत गर्छ । यसमा हुने अर्काे हाइलोरोनिक एसिड पनि हुमिकटेन्ट हुने भएकोले यसले छालामा तेल र पानीको मात्रालाई मिलाएर राख्छ । र, छालामा मोस्चरलाई रोकेर राख्छ । साथै, पी.एच भ्यालु नहुने भएकाले यसले छालामा कुनै प्रकारको एलर्जी हुँदैन ।

कसरी प्रयोग गर्ने ?

१. चिनीलाई स्क्रवको रुपमा प्रयोग गर्न सकिन्छ । यसको दानाले छालामा भएको मृत कोषिकालाई हटाउँछ । साथै, कोलाजन उत्पादनलाई बढाउँछ, र छाला स्वास्थ्य बनाउँछ ।

२. चिनीलाई दुधमा मिसाएर क्लिन्जरको रुपमा प्रयोग गर्न सकिन्छ । एक चम्चा दुधमा एक चम्चा चिनी मिसाइ अनुहारमा लगाएर हल्का हातले पाँच मिनेट मसाज गर्ने । र, मनतातो पानीले पखाल्ने ।

३. यस्तैगरी चिनीलाई क्लिन्जिङ मिल्क वा ओलिभ ओयलमा मिसाएर प्रयोग गर्न सकिन्छ । कुनै पनि क्यारियर एजेन्टसँग मिसाएर स्क्रवको रुपमा प्रयोग गर्न सकिन्छ । यसले छालालाई प्राकृतिक रुपमा गोरो बनाउँछ ।

. चिनीको प्रयोगले छालामा भएको दाग, धब्बा कम हुन्छ र छाला चम्किलो पार्छ । यसले मेलानिन उत्पादनलाई कम गर्ने भएकाले दागहरु हट्छ । जसका लागि माथि उल्लेखित विधिमा प्रयोग गर्नुपर्छ ।

कस्तो चिनी प्रयोग गर्ने ?
धेरै ठूलो दाना भएको चिनी प्रयोग गर्नु हुँदैन । चिनीलाई पिसेर अलि मसिनो बनाएरमात्र प्रयोग गर्नुपर्छ । धेरै ठूलो दानाले चाहिनेभन्दा बढी छालालाई काट्छ र घाउ बन्न सक्छ । यसलाई हप्तामा एक पटक प्रयोग गर्दा राम्रो परिणाम पाउन सकिन्छ । यदि, छाला सम्वेदनशील छैन भने हप्ताको दुई पटकसम्म पनि प्रयोग गर्न सकिन्छ ।

नकारात्मक असर पर्छ ?
चिनीको प्रयोगले छालामा त्यस्तो खाशै नकारात्मक असर त गर्दैन । तर पनि, तपाईंको कुनै अङ्गमा सर्जरी गरिएको वा एलर्जी जस्ता समस्या रहेमा चिनी प्रयोग नगर्दा राम्रो हुन्छ । र, चिनी प्रयोग गरी तयार पारिएको सामग्रीले एलर्जी हुने छालामा यो विधि प्रयोग गर्नु हुँदैन ।

प्रस्तुत प्रयोग विधिअनुसार नियमितरुपमा चिनी प्रयोग गर्दा छालामा छिट्टै परिणाम देख्न सकिन्छ । तर, चिनीको प्रयोगले नै छालामा भएका सबै दाग र धब्बा हट्छ भन्ने पनि हुँदैन ।

कुनै गम्भीर प्रकृतिको समस्याका कारण पनि छालामा दाग वा धब्बाहरु आएको हुनसक्छ । त्यसैले माथि उल्लेखित विधिअनुसार प्रयोग गर्दा पनि सकारात्मक परिणाम आएन भने स्वास्थ्य तथा सौन्दर्यविज्ञसँग सल्लाह लिनुपर्ने हुन्छ ।

(लेखक कस्मेटोलोजिष्ट, एस्थेटिसियन, एरोमा थेरापिस्ट हुन् )

प्रतिक्रिया दिनुहोस्