Logo
Logo

वीर गणेशमान सिंह रोड रेसको उपाधि सन्तोषी र गोपीलाई


दृष्टि संवाददाता


काठमाडौं । १३ औं सागका स्वर्ण पदक विजेताद्वय सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले दोस्रो वीर गणेशमान सिंह १० किलोमिटर रोड रेसको उपाधि जितेका छन् ।

शनिबार भएको प्रतिस्पर्धामा सन्तोषीले ३७ मिनेट ५३.४४ सेकेन्ड र एपिएफका गोपीले ३१ मिनेट ४४.४९ सेकेन्डमा दौड पूरा गर्दै आ आफ्नो विधामा स्वर्ण पदक जितेका हुन् । दुवैले समान ६० हजार रुपैयाँ जिते ।

दुवैले यसै दौडमा राखेको कीर्तिमान समेत तोडेका छन् । पहिलो संस्करणमा सन्तोषीको नाममा ३९ मिनेट १०.९८ सेकेन्डको समय थियो । गोपीले पहिलो संस्करणको दौड ३२ मिनेट ०१.२ सेकेन्डमा पूरा गरेका थिए ।

गत वर्ष स्वदेशमा आयोजना भएको सागमा सन्तोषीले १० किलोमिटर र गोपीले ५ किलोमिटरमा स्वर्ण पदक जितेका थिए । रेसमा नयाँ कीर्तिमान राखे वापत सन्तोषी र गोपीले १० हजार रुपैयाँ प्राप्त गरे ।

सन्तोषीको यो वर्षको तेस्रो उपाधि हो । फागुनमा धरान १० किलोमिटर र गत साता गोल्डेन एथलेटिक्स मिटमा ३ किलोमिटरमा स्वर्ण पदक जितेकी थिइन् । गोपीको वर्षको यो दोस्रो उपाधि हो । मंसिरमा नेपालगन्ज म्याराथनको उपाधि जित्दै टोकियो ओलम्पिकका लागि छनोट भएका थिए ।

महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई ३९ मिनेट ३० सेकेन्डका साथ दोस्रो र एपिएफकी फूलमती राना ४० मिनेट ५६ सेकेन्डका साथ तेस्रो भएकी थिइन् ।

पुरुषतर्फ अनिष थापा मगर ३१ मिनेट ५०.४९ सकेन्डका साथ दोस्रो र तीर्थ पुन ३१ मिनेट ५६.३८ सेकेन्डका साथ तस्रो स्थान प्राप्त गरेका थिए । दुवैतर्फका दोस्रोले ३० हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गरे ।

वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले आयोजना गरेको १० किलोमिटर रोड रेसमा ४ सयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्