Logo
Logo

प्रधानमन्त्री पाउँ भनेको छैन, जिम्मेवारी आए भाग्दिनँ : देउवा


दृष्टि संवाददाता


चितवन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागिभन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस तरुण विभागले आज रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै उनले अहिले प्रधानमन्त्री बन्नुभन्दा कांग्रेसलाई निर्वाचनमा पहिलो पार्टी बनाउने समय आएको बताए, उनले भने ‘प्रधानमन्त्री बन्नुभन्दा पार्टी बनाउन लाग्नुपर्छ । टाउकामा जिम्मेवारी आयो भने पछि पर्ने वाला पनि छैन ।’

सभापति देउवाले अहिले नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार रहेको छ भन्दै माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएको बताए । उनले भने, ‘मधेशवादी दल, माओवादी केन्द्र र नेकपा एमालेका ओली र नेपाल पक्ष कसरी अगाडि बढ्छन् । त्यो हेर्नुपर्छ ।’

सभापति देउवाले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिए । आपसी मतभेदको अन्त्य गर्दै निर्वाचनको तयारी गर्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे । सभापति देउवाले स्थानीय तहदेखि सङ्घीय तहसम्म निर्वाचन हुने भएकाले सबैलाई व्यवस्थापन गर्न सकिने बताउँदै जनताको घर दैलोमा गएर निर्वाचनका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘जनता मालिक हुन् । नोकर होइनन् । भाषण गरेर मत दिँदैनन् । जनताको सुख दुःखमा साथ दिनुस् । निर्वाचन जितिन्छ ।’ कांग्रेस भित्रको आन्तरिक विवाद टुङ्गाएर अघि बढ्ने समय आएको उनको भनाइ छ ।

कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस सर्तसहित सरकारमा नजाने बताए । उनले भने, ‘कांग्रेस सरकारमा जान्छ तर हात खुट्टा बाँधेर सरकारमा जाँदैन ।” विना सर्त लोकतान्त्रिक विकल्पमा दल आउने भए मात्र कांग्रेसले सरकारको नेतृत्व गर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्