ट्रिपरकाे ठक्करबाट महिलाको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

ट्रिपरकाे ठक्करबाट महिलाको मृत्यु


दृष्टि संवाददाता


भक्तपुर । भक्तपुरको चित्तपोलमा आज ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकबाट चित्तपोलतर्फ जाने भित्री सडकमा बा४ख ९८१० नंको ट्रिपरले मे८प ८३९७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको हो ।

ट्रिपरको ठक्करबाट घाइते भएकी सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–११ घर भई हाल काठमाडौं हात्तीगौडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घाइते कार्कीलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

सो घटनामा मृतकका छोरा मोटरसाइकल चालक ३४ वर्षीय प्रकाश कार्की सकुसल रहेको प्रनाउ गिरीले बताए । घाइते महिलालाई नलिञ्चोकस्थित प्रहरीको प्रहरी सहायक निरीक्षक रवीन्द्र थापा नेतृत्वको सिआरभी टोलीले उद्धार गरी अस्पताल लगिएको थियो । प्रहरीले घटनामा संलग्न दुवै सवारी साधन र ट्रिपरका चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ बस्ने २३ वर्षीय सुनिल तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्