Logo
Logo

माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्दै एमालेले पठायो पत्र


दृष्टि संवाददाता

252
Shares

काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्दै नेकपा एमालेले पत्र पठाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान र हितविपरीत गतिविधि गरेको भन्दै नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

निर्णयलगतै पार्टी कार्यालयले लिखित पत्र तयार गरेपछि चार नेताको घरमा पुगेर सोमबार बुझाएको कार्यालय सचिव इश्वरीप्रसाद रिजालले जानकारी दिए । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्र साेमबार नेताहरुलाई पठाइएको हो ।

वरिष्ठ नेता नेपाल र स्थायी कमिटी सदस्य पाण्डेले पत्र बुझे पनि उपाध्यक्ष रावल र उपमहासचिव भुसालले भने बुझिसकेका छैनन् । वरिष्ठ नेता नेपालको पत्र उनकै स्वकीय सचिव नितेज पौडेल र स्थायी कमिटी सदस्य पाण्डेलाई पठाइएको पत्र स्वकीय सचिव सञ्जीव पाण्डेले बुझेका हुन् ।

महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ दिन भनिएको छ । चित्तबुझ्दो स्पष्टीकरण नदिए पार्टी विधानअनुसार थप कारबाही गरिने निर्णय पनि बैठकले गरेको थियो ।

नेपाल पक्षले भने यसअघि नै लिखित स्पष्टीकरण नदिने सर्वजनिक रुपमा बताइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्