Logo
Logo

चोरीका ३० बाइक र स्कुटर सम्बन्धित धनीलाई फिर्ता


दृष्टि संवाददाता


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३० वटा चोरी भएका मोटरसाइकल र स्कुटर बरामद गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। सोमबार महाशाखाको परिसरमा आयाेजित कार्यक्रममा महाशाखाले १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित सवारी धनीलाई फिर्ता गरेको हो।

चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ पनि गरेको छ। प्रहरीले नुवाकोटका ३० वर्षिय बिमल गुरुङ र मोरङ बेलबारी घर भई गोलढुङ्गा बस्ने आशिष खत्रीलाई मोटरसाइकलसहित पक्राउ गरेको हो।

‘महाशाखाले दुई हप्तामा चोरी भएका ३० वटा मोटरसाइकल खोजतलास एवंम् बरामद गर्न सफल भएको छ,’ कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने।

एसएसपी भट्टराईका अनुसार महाशाखाले काठमाडौं उपत्यका र आसपासमा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण गर्ने र त्यसमा संलग्न व्यक्तिलाई कारबाही गर्ने अभियानलाई तीब्र रुपमा अगाडि बढाएको छ।

‘यसका लागि सादा पोसाकमा समेत विशेष ट्राफिक प्रहरीको टोली परिचालन गरेका छौँ। त्यस टोलीले नियमित रूपमा खबर संकलन गर्ने तथा विशेष अपरेशनमार्फत् मोटरसाइकल बरामद गर्ने गर्छ भने चोरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्छ,’ एसएसपी भट्टराईले भने।

महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको भक्तपुर, काँडाघारी, माछापोखरी, गोकर्णेश्विर, टोखा, नयाँ–बसपार्क साथै उपत्यकासँग सिमाना जोडिएका विभिन्न स्थानबाट मोटरसाइकल बरामद गरेको समेत उनले जानकारी दिए।

ट्राफिक महाशाखाले बिशेष अपरेसनमा चोरी भएका सवारी साधनहरू बरामद गर्छ। र, चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी बृत्तमा पठाउने गरेको छ। सम्पूर्ण अनुसन्धान पश्चात फेला परेका र बरामद गरिएका साधन सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको छ।

यस आर्थिक वर्षमा मात्रै हराएका ३ सय ३१ वटा मोटरसाइकल खोजतलास गरी सवारी धनीलाई जिम्मा लगाइनुका साथै चोरीमा संलग्न ४५ जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउमा परेका व्यक्तिहरूको विभिन्न प्रहरी बृत्तमार्फत मुद्दा चलिरहेको महशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्