Logo
Logo

घरेलु मैदानमा त्रिदेशीय फुटबलकाे उपाधि जितेर खुसी पार्ने छाैँ : मुख्य प्रशिक्षक महर्जन


दृष्टि संवाददाता


काठमाडाैं । नेपालको घरेलु मैदानमा हुन लागिएको त्रिदेशीय फुटबल लिग मंगलबारबाट सुरु हुँदैछ । काठमाडौंको दशरथ रंगशालामा हुने खेलमा नेपाल, बंगलादेश र किर्गिस्तानको सहभागिता रहेको छ ।

लिगमा उत्कृष्ट प्रदर्शन गर्ने तीनै देशका प्रशिक्षकहरूले दावी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली घरेलु मैदानमा हुने लिग जितेर नेपाली फुटबल समर्थकहरूलाई खुसी पार्ने आफूहरूको लक्ष्य रहेको बताए ।

घरेलु मैदानमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि प्रयास गर्ने उनले बताए । मुख्य प्रशिक्षक महर्जनले उत्कृष्ट प्रदर्शन गर्न सफल भएका नतिजा समेत त्यहिँ अनुसार आउने दावी गरे । महर्जनले किर्गिस्तान र बंगलादेशबीचको उद्घाटन खेल हेरेर टिमको रणनीति तयार गर्ने बताए । मुख्य प्रशिक्षक महर्जनले टिमको कप्तानी किरण चेम्जोङले गर्ने जानकारी दिए ।

त्यस्तै बंगलादेशका राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जेमी डे ले आफुहरुले त्रिदेशीय प्रतियोगितालाई विश्वकप छनोटको तयारीको रुपमा हेरेको र भोली हुने पहिलो खेलबाट राम्रो नतिजा आउनेमा आशावादी रहेको बताए ।

किर्गिस्तानका मुख्य प्रशिक्षक अलेक्सान्दर क्रेस्टिनीनले टिमले सकेसम्म उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए । दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् ।

मंगलबार हुने उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । किर्गिस्तानको यू–२३ टिम हुनेछ । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्