१३६ जना विदेशी नागरिक निष्कासित « Drishti News – Nepalese News Portal
Logo

१३६ जना विदेशी नागरिक निष्कासित


दृष्टि संवाददाता


काठमाडौं । पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करिब डेढ सयजना विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा (साउनदेखि फागुन मसान्तसम्म) १३६ जना विदेशी नागरिकलाई निष्कासन गरिएको हो ।

पर्यटक भिसामा नेपाल प्रवेश गरी विभिन्न गतिविधिमा संलग्न भएका विदेशी नागरिकलाई निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक रमेश केसीले जानकारी दिए । उनका अनुसार कारबाही स्वरुप निष्कासित हुनेमा ओभरस्टे, विदेशी मुद्रा अपचलन, बैंकिङ कसूर, लागूऔषधलगायत कसूरका धेरै रहेका छन् । विभागको तथ्यांकअनुसार पछिल्लो समय निष्कासनमा पर्नेमा चिनियाँ नागरिक धेरै छन् ।

निष्कासित हुने विदेशी नागरिकलाई कसूरका आधारमा एक वर्षदेखि १० वर्षसम्म नेपाल प्रवेशमा रोक लगाइएको महानिर्देशक केसीले बताए । विभागको तथ्यांकअनुसार आठ महिनामा विभिन्न १३ शीर्षकमा ४२ हजारभन्दा बढी विदेशीलाई नेपाल प्रवेशका लागि भिसा जारी गरिएको छ । आठ महिनाको अवधिमा २० हजार १५३ जनालाई पर्यटक भिसा जारी गरिएको छ । जसमध्येमा फागुन महिनामा ६ हजारभन्दा बढीलाई उक्त भिसा जारी गरिएको हो ।

आठ महिनामा १२ हजार २१७ विदेशीलाई थप पर्यटक भिसा, एक हजार ७ सय जनालाई व्यावसायिक भिसा, ८८४ जनालाई वैवाहिक भिसा जारी गरिएको छ । यस्तै ७३९ अध्ययन भिसा, २५ आवासीय भिसा, दुई हजार ९९३ नाता भिसा, एक हजार ९१२ जनालाई कामदार भिसा र २७२ जनाालाई आश्रित भिसा जारी गरिएको छ ।

विभागले आठ महिनामा विभिन्न शीर्षकमा भिसा जारी गरेर ४२ करोड २६ लाख २९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्