Logo
Logo

हनुमन्ते करिडोरको निर्माण पुनः सुचारू


दृष्टि संवाददाता


भक्तपुर । हनुमन्ते करिडोरको निर्माण पुनः सुचारु भएको छ । हनुमन्ते खोला आसपासका बस्तीमा हुने डुबान रोक्ने, लोकन्थली–कोटेश्वरमा सडकमा दैनिक हुने जाम हटाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुरमा सञ्चालित हनुमन्ते करिडोर निर्माण पुनः सुचारु भएको हो ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिले शुरु गरेको हनुमन्ते करिडोर निर्माणको क्रममा मापदण्डभित्र रहेका संरचना हटाउन अटेर गर्ने र जग्गा विवादका कारण बेलाबेलामा रोकिँदै आएको करिडोर निर्माण सम्बन्धी विवाद सुल्झाउँदै पुनः शुरु भएको छ ।

समितिले भक्तपुरको सल्लाघारी पुलदेखि मनोहरा नदी दोभानसम्मको करिब ११ किमीमा करिडोर निर्माण गर्न शुरु गरेपछि राधेराधे पुलदेखि नयाँ थिमि बालकोट पुलसम्म २.८ किमि करिडोर निर्माणमा आएका विभिन्न विवादलाई सुल्झाउँदै बालकोटसम्मको निर्माण पूरा गरेको छ ।

योबीचमा केही भागमा स्थायी र अस्थायी संरचना बनाएर हनुमन्ते करिडोर निर्माणमा बाधा पुगेका र मापदण्डभित्र परेका संरचना भने धमाधम भत्काएर करिडोर निर्माण अगाडि बढाएको हो ।

समितिले करिब रु दुई अर्ब बजेट विनियोजन गरी करिडोर निर्माणलाई तीन खण्डमा विभाजन गरेर काम अगाडि बढाएकोमा आगामी जेठ मसान्तभित्र काम सम्पन्न नगरे बजेट फिर्ता जाने र करिडोर निर्माण अलपत्र पर्ने भएपछि अवरोध हटाउँदै करिडोर निर्माण प्रक्रिया अगाडि बढाएको समितिका अध्यक्ष उद्धव तिमल्सिनाले जानकारी दिए ।

हनुमन्ते नदीको बहाव २० मिटर तथा नदीको दायाँबायाँ २०–२० मिटरको मापदण्डभित्र रहेर निर्माण शुरु भएको हनुमन्ते करिडोरको मापदण्डभित्र रहेका भौतिक संरचना हटाउन विगत दुई वर्षदेखि पटकपटक समिति र सूर्यविनायक नगरपालिकाले जारी गरेको सूचनाको अटेर गर्नेको त्यस्तो संरचना डोजर लगाएर भत्काउँदै काम अगाडि बढाएको उनले जानकारी दिए ।

आयोजना सम्पन्न गर्न नसके यति ठूलो रकमको बजेट फिर्ता जाने भएपछि हनुमन्ते नदी आसपासका जग्गाधनी र यहाँका बासिन्दाले छिटो करिडोर निर्माण सम्पन्न गर्न माग गरे पछि समितिले पुनः काम अगाडि बढाएको उनको भनाइ छ ।

केही दिन अगाडि मात्रै सूर्यविनायक–५ मा रहेका साखः इन्ड्रस्टिजका सञ्चालक किरण साखलाई दुई वर्षदेखि पर्खाल भत्काउन पटकपटक सूचना पठाउँदा पनि नमानेको र उल्टै पाटन उच्च अदालतमा करिडोरविरुद्ध रिट जाहेर गरेको थियो । अदालतले करिडोर निर्माणको पक्षमा फैसला गर्दै मुद्दा खारेज गरेपछि आयोजनाले डोजर लगाएर भत्काएको समितिको भनाइ छ ।

खोलाले बेला बेलामा धार परिवर्तन गर्दा कतिपयको जग्गा खोलामा र खोला व्यक्तिको जग्गामा बगेकाले सबैलाई उचित क्षतिपूर्ति मिल्ने गरी जग्गा वितरण गर्ने उद्देश्यका साथ सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाले हनुमन्ते जग्गा एकीकरण आयोजना सञ्चालन गरी जग्गा वितरण गर्ने निर्णय गरेपछि सबै विवादको अन्त्य भई करिडोर निर्माण शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्