Logo
Logo

कोरोना विरुद्धको दोस्रो मात्राको खोप बैशाख ७ बाट लगाइने


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस विरुद्धको दोस्रो मात्राको खोप बैशाख ७ गतेबाट लगाइने भएको छ । भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट सम्झौताअनुसार समयमै खोप नआएपछि दोस्रो खोप दिन अन्योल भएको थियो ।

तर, सरकारसँग मौजदात रहेकाले बैशाख ७ बाट दोस्रो खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गत माघ १४ देखि सुरु पहिलो चरणको खोप अभियानमा सहभागी ४ लाख ३८ हजार ८ सय ७९ जनालाई दोस्रो खोप दिइनेछ ।

खोप कार्यक्रमको दोस्रो चरण अन्तर्गत फागुन २३ बाट खोप लगाएका १२ लाख ३४ हजार ३ सय ४८ जनालाई असारको पहिलो सातासम्ममा दोस्रो खोप लगाइने सरकारको तयारी रहेको छ । सरकारसँग अहिले ५ लाख खोप मौजदात रहेको छ ।

यति खोप पहिलो चरणका लागि पुग्छ । भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट सम्झौताअनुसार समयमै खोप दिएको भए यतिवेला दोस्रो खोप लगाइसक्ने अवस्था थियो । कोभिसिल्डको दोस्रो मात्रा खोप पहिलो मात्रा लगाएको ८ देखि १२ साताभित्र लगाउनुपर्ने स्वास्थ्य विज्ञहरुको भनाइ छ ।

हालसम्म मुलुकभर १६ लाख ७३ हजार २ सय २७ जनाले कोभिसिल्ड खोप लगाइसकेका छन् । खोप लगाउँनेमा कुनै जटिल समस्या आएको छैन । यता, चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ८ लाख मात्रा खोप सोमबार बिहान आउने भएको छ ।

नेपालले उक्त खोप आफ्नै ढुवानी खर्चमा ल्याउन लागेको हो । चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड (बीआईबीपी), सिनोफार्मले उत्पादन गरेको ‘भेरो सेल’ खोप ल्याउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्