Logo
Logo

वायु प्रदूषण केही समयसम्म रहने, घर बाहिर ननिस्कन अपिल


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ ।

वायु प्रदूषण मौसममा पनि भरपर्छ । मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरुले बताएका छन् ।

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी विरामी र मुटुका रोगीहरु बढी प्रभवित हुने भएकाले विभागले विशेष सावधानी अपनाउन सबैमा अपिल गरेको छ ।

विभागका उपमहानिर्देशक इन्दुबिक्रम जोशीले सकेसम्म सबै उमेर समूहका नागरिकलाई सम्भव भएसम्म घर बाहिर नकिस्कन, निस्कनैपर्ने अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गरे । आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्ने भएकाले फोहर बाल्ने र खुलारुपमा आगो बाल्ने कार्य नगरिदिन, विद्युतीय सावारी साधन बाहेकका अन्य सवारी साधन कम प्रयोग गर्न विभागले आग्रह गरेको छ ।

शुक्रबारयता काठमाडौँ उपत्यकालगायतका स्थानको वायु प्रदूषण सूचक (एक्यूआई) ३०० को हाराहारी रहेको छ । विभागका अनुसार मानव स्वास्थ्यका लागि शून्यदेखि ५० सम्मको एक्यूआइ राम्रो, ५० देखि १०० सम्म सामान्य तथा १०० देखि माथिको तहलाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

प्रदूषणको प्रमुख कारण डढेलो

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो लागेको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै तीन दिनदेखि नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको जानकारी दिए । उनका अनुसार मौसम सफा हुन डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न सकिने अवस्था छैन् ।

विभागकै मौसमविद् मञ्जु बासीले डढेलोका कारण वायुमण्डलमा असर परेको र बाक्लो तुवाँलो लागेको बताए । ‘वायुमण्डल स्थिर छ, हावा तलमाथि भएको छैन त्यसैले उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढाकेको छ । बेगले हावा चलेको भए तुवाँलो छरिन्थ्यो र विस्तारै आकाश खुल्ने थियो । त्यो देखिदैन मङ्गलबारदेखि काठमाडौँको आकाश खुल्ने अनुमान गरिएको छ’, उनले भने ।

अहिले काठमाडौँ उपत्यका पूरै तुवाँलोले ढाकेको र भिजिबिलिटी कम रहेको उनले जानकारी दिए । प्रदेश नं २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा वायु प्रदूषण देखिएको छ । काठमाडौँ उपत्यका जस्तै अन्य उपत्यकामा पनि बढी असर रहेको मौसमविद् बासीको भनाइ छ । सोमबार साँझदेखि पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भएकाले मङ्गलबारसम्म उक्त वायु काठमाडौँ प्रवेश गरेसँगै मौसममा केही सुधार आउने बताइएको छ ।

पश्चिमी वायुको प्रभावले वर्षाको पनि सम्भावना रहेकाले तुवाँलो हट्ने मौसमविद् बासीले बताए । उनले तत्कालै ठूलो वर्षा र हावा हुरी चल्ने मौसमी प्रणाली नरहेकाले मौसम पूर्णरुपमा सुधार हुन अझै केही समय लाग्ने जानकारी दिए ।

अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन अपिल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि मौसममा आएको परिवर्तनसँग काठमाडौँ उपत्यकाभित्रको वायु प्रदूषण बढेकाले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ ।

वायु प्रदूषणले स्वास्थ्यमा विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक कामवाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न गर्न र शरीर पूरै ढाकिने गरी लुगा लगाएर मात्र निस्कन मन्त्रालयले आह्वान गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले वायु प्रदूषणले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन गम्भीर असर पर्न सक्ने सम्भावना रहेको जानकारी दिए । प्रदूषणले आँखा चिलाउने र पोल्ने, छाला चिलाउने, श्वासप्रश्वासमा गाह्रो हुने समस्या बृद्धि भएको छ । साथै दीर्घकालीनरुपमा मुटु र फोक्सोको समस्या बढ्ने, स्नायु प्रणालीमा असर पर्ने बालबालिकाको वृद्धिविकासमा असर गर्ने र क्यान्सरको समस्या हुने उनले बताए ।

प्रदूषणबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गर्दै उनले भने, ‘प्रदूषित वातारण थप बढ्न नदिन जिम्मेवार निकाय र व्यक्तिले गर्नुपर्ने भुमिका महत्वपूर्ण छ । यस्तो बेला अनावश्यक गाडी प्रयोग नगर्ने, बैकल्पिक ऊर्जाको प्रयोग बढाउने, प्रदूषण कम हुने अन्य बैकल्पिक उपाय अपनाउने, विकास निर्माणका काममा धुलो कम हुने उपाय अवम्बन गर्ने । त्यसो गर्ने सके बस्न योग्य वातावरण हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्