Logo
Logo

झा दम्पती हत्या आरोपमा थप तीन जना पक्राउ


दृष्टि संवाददाता


जनकपुरधाम । महोत्तरीका झा दम्पतीको हत्यामा संलग्नताको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने झा दम्पतीका छिमेकी र आफन्त नै हुन् ।

पिपरा गाउँपालिका– ५ सहोडबाका ६६ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीता देवी झा गत फागुन ११ गतेदेखि वेपत्ता भएका थिए । दुबैको शव गाडिएको अवस्थामा १२ चैतमा पिपरा गाउँपालिका २ मा फेला परेको थियो ।

महोत्तरीका प्रहरी प्रमुख दिनेश आचार्यका अनुसार उक्त घटनामा संलग्न रहेको आशंकामा झा दम्पतीका छिमेकी तारादेवी झा र उनका दुई छोरा कैलाश झा र विकास झालाई पक्राउ गरिएको छ ।

उनका अनुसार तारादेवीको घरबाट झा दम्पतीलाई लुकाएको टिनको बाकस र जलेको कपडा बरामद भएको छ । ‘यी सामग्री बरामद भएपछि उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेका छौं’ उनले भने । प्रहरी प्रमुख आचार्यका अनुसार पक्राउ परेका आमा छोरा हत्या गरिएका झा दम्पतीका आफन्त नै हुन् ।

प्रहरीले यसअघि झा दम्पतीको अपहरणपछि हत्या गरेको आरोपमा छिमेक रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादव तथा भारत बिहार मधुबनी जिल्ला घर भइ महोत्तरीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्