Logo
Logo

म्यान्मार सेनाले हवाइजहाजबाट बर्सायो बम, ज्यान जोगाउन थाइल्याण्ड भाग्दै सर्वसाधारण


दृष्टि संवाददाता


एजेन्सी। सैन्य कुपछि दैनिक सेना तथा प्रहरीको गोलीबाट ज्यान गुमाइरहेका सर्वसाधारणमाथि म्यान्मारका सेनाले हवाई कारवाही पनि थालेका छन् । सीमा क्षेत्रमा विमान तथा हेलिकप्टरबाट सेनाले सर्वसाधारणमाथि हवाई कारवाही गरेको अल्जाजिराले जनाएको छ ।

दक्षिण पूर्वी राज्य करेन राज्यमा धार्मिक सशस्त्र समूहद्वारा नियन्त्रित क्षेत्रमा हवाई कारवाही भएको बताइएको छ । मुट्र जिल्लामा हवाई आक्रमण तथा बम प्रहार हुँदा ३ हजार मानिस ज्यान जोगाउन थाइल्याण्ड भागेको बताइएको छ । करेन वुमन्स अर्गनाइजेसनले एउटा विज्ञप्तीमा भनेको छ, ‘सेनाले हवाई कारवाही गरेपछि गाउँलेहरु जंगलमा लुक्न बाध्य भएका छन् । ३ हजार सीमा पार गरेर थाइल्याण्डको शरणमा पुगेका छन् ।’

सेनाको हवाइ आक्रमणबाट बच्न भाग्दै बालबालिका

‘हामी सेनाको अत्याचारमाथि अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रियाको माग गर्दछौं । हामी यो सन्देश पठाउन चाहन्छौं कि सेनाले दण्डहीनताको साथ काम गर्न सक्दैन’ विज्ञप्तीमा भनिएको छ । गत शनिबार सेना तथा प्रहरीले एकै दिन ११४ प्रदर्शनकारीलाई गोली हानी मारेका थिए । लोकतन्त्र पुनर्स्थापनाको माग गर्दै सैन्य शासनविरुद्ध प्रदर्शन भइरहेको हो ।

सेनाको दमनबीच पनि प्रदर्शन रोकिएको छ । हालसम्म यहाँ ४५९ प्रदर्शनकारीको ज्यान गइसकेको छ । सेनाले लोकतान्त्रिक नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएका थिए ।

धाँधली गरेर सुचीको पार्टीले चुनाव जितेको भन्दै सेनाले सत्ता हातमा लिएका थिए । एक वर्षपछि आम निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने जुन्ता शासकको भनाइ छ । यता ज्यान जोगाउन भागेका म्यानमारीहरुकोबारेमा थाइल्याण्ड सरकारले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्