Logo
Logo

थ्री नेसन्स कपको उपाधि नेपाललाई


दृष्टि संवाददाता


काठमाडौं । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि नेपालले जितेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

नेपाललाई उपाधि दिलाउनको लागि सन्जोक राई र विशाल राईले समान एक–एक गोल गरे । बंगलादेशका लागि महाबुबुर रहमानले एक गोल फर्काए । नेपालले दुवै गोल पहिलो हाफमा गरेको थियो भने बंगलादेशले दोस्रो हाफमा गोल फर्काएको थियो ।

१८औं मिनेटमा सन्जोक राईले गोल गदै नेपाललाई १–० को अग्रता दिलाए । सुनिल बलको कर्नरमा सन्जोक राईले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । राष्ट्रिय टोलीबाट सन्जोकले डेब्यु गोल गरेका हुन् ।

४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । रन्जित धिमालको पासमा सन्जोक राईले छोएको बललाई विशाल राईले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए ।

८४ औँ मिनेटमा बंगलादेशले गोल गर्दै खेलमा फर्काने संकेत देखाएपनि त्यसपछि थप गोल गर्न नसक्दा खेल नेपालले जित्यो । महाबुबुर रहमानले कर्नरबाट आएको बललाई हेडर गोल गरेका थिए ।

दोस्रो हाफमा नेपालले गोल गर्ने केही अवसर पाए पनि गोल भने गर्न सकेन । गोल किपर किरणकुमार लिम्बूले पनि गोल हुनबाट धेरै पटक जोगाएका थिए ।

उपाधिसँगै नेपालले ५ हजार डलर प्राप्त गरेको छ भने बंगलादेशले ३ हजार डलर प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्