Logo
Logo

ओलीले आफ्नै खुट्टामा बन्चरो हाने


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली एकपछि अर्को गर्दै गलत निर्णयको चंगुलमा फस्दै गएका छन् । एमाले–माओवादी एकतापछि बनेको नेकपा विभाजन गरेर कमजोर बनेका ओली सिंगो एमाले जोगाउन पनि नसक्ने अवस्थामा पुगेका छन् ।

ओलीले पार्टीभित्रको गतिरोध अन्त्य गर्नेतर्फ अग्रसर होलान् भन्ने अपेक्षाविपरित कारवाहीमा उत्रनुले एमाले विभाजनतर्फ धकेलिदैं छ । चैत १३ गते ओली आफैले ‘विगत भुलौं, अब मिलेर जाऔं’ भनेका थिए । तर, ओलीले मिलौं भनेको तीन दिन नबित्दै आन्तरिक विवादलाई कारण देखाएर तीन कार्यकाल महासचिवको रुपमा पार्टीमा योगदान गरेका माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बनको कारवाही गर्नु एमालेका लागि प्रत्युपादक निर्णय हुनेछ ।

एक्लौटी रुपमा २०७८ मंसिर २–६ मा १०औं महाधिवेशनको मिति घोषणा गरेका ओली पार्टीका अन्य नेतालाई पाखा लाएर आफू पुनः पार्टी अध्यक्ष बन्ने योजनामा छन् । सोही योजनामा ओलीले माधवकुमार नेपाललाई कारवाही गरेका हुन् । निहित स्वार्थ पुरा गर्न वर्तमान एमाले बनाउन महत्वपूर्ण योगदान गरेका माधवकुमार नेपाललाई कारवाही गर्नुले एमाले मित्र ठूलो आक्रोस पैदा हुने देखिन्छ ।

ओलीले कारवाही गर्ने निर्णय गरेलगत्तै प्रतिकृया दिदैं नेपालले कार्यकर्तालाई मैदानमा उत्रन आह्वान गरेका छन् । अब ओलीविरुद्ध देशव्यापी अभियान चलाउने भनिसकेका छन् । ओली गुटले फागुन २८ गते गरेको निर्णयबाट असन्तुष्ट माधव समूहले यस अगाडि नै समानान्तर गतिविधि थालिसकेको छ ।

जनसंगठनहरु मध्ये युवा, विद्यार्थी, महिला र किसानले समानान्तर कमिटी घोषणा गरिसकेका छन् । नेपाल र रावललाई निलम्बनको कारवाही गरिएसँगै माधव समूहको समानान्तर गतिविधि बढ्ने देखिन्छ । तल्लो तहसम्म समानान्तर गतिविध भएसँगै एमाले फुट्को संघारमा पुगेको छ ।

ओली गुटले फागुन २८ गते गरेको निर्णय सच्याए पार्टीमै रहने मुडमा रहेको माधव समूह अब भने एमालेमै रहेर संघर्ष गर्ने निर्णबाट पछि हट्ने सम्भावना बढेको छ । अपमान सहेर बस्ने कि बिद्रोह गर्ने ? भन्नेमा स्पष्ट धारणा तय गरिसकेका नेपाल अब भने निर्णायक मुडमा पुगेका छन् । नेपालले अब चाल्ने कदमले नेपाली कम्युनिष्ट आन्दोलनमा फुटको अर्को दुखद् इतिहास दोहोरिन सक्छ ।

केपी ओलीलाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपाल प्रस्तावक थिए । हाल माओवादी केन्द्रका अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ समर्थक थिए । ओलीकै अग्रसरतामा नेकपा खारेज भएपछि उनका समर्थक प्रचण्ड अलग भइसकेका छन् । ओलीले आफ्नो प्रस्तावक नेपाललाई समेत पाखा लगाएर आफ्नै खुट्टामा बञ्चरो हान्ने काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्