Logo
Logo

भारतीय सेनाले नेपाली सेनालाई दियो एक लाख डोज कोरोना खोप


दृष्टि संवाददाता


काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई कोरोना भाइरसविरुद्धको खोप उपहारमा दिएको छ ।

भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप दिएको हो । मंगलबार जंङ्गी अड्‍डामा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि भारतका राजदुत महामहिम विनय मोहन क्वात्राले प्रधान सेनापति महारथी पुर्ण चन्द्र थापालाई खोप हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेले भिडियो कन्फरेन्समार्फत उक्त खोप प्रधानसेनापति थापालाई ग्रहण गर्न अनुरोध गरेका थिए। त्यसलगत्तै भारतीय राजदूत क्‍वात्राले खोप हस्तान्तरण गरेका थिए।

सोही क्रममा जनरल नरवणेले मित्रराष्ट्रहरुलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारतीय सरकारको नीतिअनुसार घनिष्ट सम्बन्ध रहेको नेपाली सेनालाई यस प्रकारको सहयोग गर्न पाउँदा खुसी लागेको बताएका थिए।

प्रधानसेनापति थापाले सहयोगको लागि जनरल नरवणे, भारतीय सेना तथा भारतीय सेनाको सकल दर्जालाई धन्यवाद दिए। यस सहयोगले नेपाली सेनाका सकल दर्जा एवं प्राथमिकताका आधारमा हिताधिकारीहरु समेत लाभान्वित हुने उनले बताए।

नेपाल र भारतको सेनाबीच विशेष सम्बन्ध छ। दुबै देशका सेना प्रमुखले एक अर्काको देशमा महारथीको मानार्थ दर्ज्यानी चिन्ह लिने गरेका छन् ।

यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज भ्याक्सिन अनुदान दिएको थियो।

प्रतिक्रिया दिनुहोस्