टयाक्सी व्यवसायीको व्यवहार या ट्राफिक प्रहरीको कारवाहीमा सुधार ? « Drishti News – Nepalese News Portal
Logo

टयाक्सी व्यवसायीको व्यवहार या ट्राफिक प्रहरीको कारवाहीमा सुधार ?


नरेशकुमार श्रेष्ठ



नेपालीमा उखान छ ”कुकुरको पुच्छर १२ वर्ष सम्म ढुङ्गग्रोमा हालेपनि बाँङ्गोको बाङ्गै” यो उखान लगेर ट्राफिक प्रहरीले दैनिक सयौ सार्वजनिक सवारी लगायत अन्य सवारीलाई गर्नेकारवाही र राष्ट्रिय दैनिक पत्रिकामा निस्कने कारवाही संख्यालाई हेर्दा हुन्छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ११३ मा यात्री लिन ईन्कार गर्न नहुने दफा १४४ मा अवस्था ठिक नभएको सवारी चलाउन नहुने भनि परिभाषित गरेको छ । हामी कहाँ हतारको वेला टयाक्सीको सेवा पाउन साह्ै समस्या छ, यस्तै समस्या मलाई ०७५ साल पौष २७ गतेका दिन साँझ ६ बजे परेको थियो । टयाक्सी लिन म एकान्तकुना चौक गए तर कुनै टयाक्सी महाराजगंज जान तयार भएन । करिव १ घण्टा वस्दा समेत कुनै चालकलाई राजी गर्न सकिन । उनिहरुको माग यस्तो थियो । दोव्वार भन्दाबढी भाडा दिए जान तयारहुने, या दूइतर्फी भाडा दिए जाने, कोही मिटर विग्रेको वाहाना बनाउने र धेरै यस्तै बहाना बनाउदै जानलाई इन्कार गरेका थिए कोही मानेन भने चौकमा बसेर यातायात सुचारु गर्ने जिम्मा पाएका ट्राफिक प्रहरी मुकदर्शक भएका थिए । मेरो बुत्ताबाट ट्याक्सी सेवा पाउन लक्षण नदेखिएपछि डा. संग लिएको समय खेर जाने पक्का भएको थियो त्यसैले मैले ट्राफिक प्रहरीको हट लाईन नं. १०३ मा फोन गरेर समस्या सुनाएपछि सहयोगको लागि एकजना प्रहरी आउनु भयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटाइएका ट्राफिक प्रहरीले एक टयाक्सीलाई जानको लागि राजी गराउनु भयो, तर डाक्टरसंग लिएको समय सकि सकेको थियो । यस प्रकारको समस्याको पिडीत म एक सामान्य नागरिकलाइ भयो भने, दैनिक यस्तो समस्या आफदमा परेका सयौ नागरिकलाइ पर्ने गरेको छ, तर थोरैले मात्र ट्राफिकलाई आफनो समस्यकोा रिपोर्ट गर्ने गरेको छ । त्यस्र्त समस्याहरु दैनिक रुपमा हवाइ यात्रीहरुलाई कतैबाट काठमाण्डौ आउनु प¥यो बाहिर भएका कुनैपनि टयाक्सीहरुले मनपरि भाडा असुल गरेको मैले भोगेको छु, त्यसमा ट्राफिक प्रहरी मुक दर्शक भएर बसेको मैले पाएको छु । यस्तै व्यवहार टयाक्सी सवारी चालकको हो भने कति टयाक्सी र चालकलाइ लाई कारवाही गर्ने हो? कहिले सम्म गर्ने ? कुन तहसम्म कारवाहीको दायारा बढाउने हो ? जव समस्याहरु जहाँका तही छ । सुधारको नाम निसाना नै छैन भने कारवाहीको मतलव के रहन गयो ? या हाम्रो कारवाहीको तरिकामा कही कती समस्या छ आदी कुराको खोज गर्न जरुरी भएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा २ को परिभाषा भित्र ”यात्री वाहक सार्वजनकि सवारी साधनको हकमा” यात्रू ओसार पसार गर्ने भनि परिभाषित गरिएको छ । सोही ऐनको तफा १६४ को (त) मा सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको र (थ) मा निर्धारित भाडादरभन्दा बढी भाडा लिइ सवारी चलाएको भेटिएमा प्रहरीले गल्तीको २४ घण्टे पूर्जी जारी गर्न सक्ने छ र सोही अनुसार २४ घण्टा भित्र कार्यालयमा गई कसुर अनुसार रु. २५ देखि रु २०० सम्म जरिवाना गर्न सक्ने प्रावधान रहेको छ ।
सवारी यातायात व्यवस्था ऐन २०४९ को (त) र (थ) गल्ती गर्ने सवारी साधनलाइ समेत कारवाहीकोलागि ट्राफिक प्रहरी कार्यालयबाट सवारी यातायात तथा व्यवस्था ऐन २०४९ को दफा १६० (क) (ख) को अनुसार जरिवाना गराउन यातायात व्यवस्था विभाग पठाउने गरेको पाईन्छ । ट्राफिक प्रहरीलाई रु २०० भन्दा बढी जरिवाना गर्ने अधिकार प्रत्यायोजन हाल सम्म भएको देखिदैन ।
‘अनि मिटरमा गएन भनेर’ ३०००। (तीन हजार) सम्म जरिवाना तिरेको खवर माघ ११ गते २०७५, ”ठग र लुटेराको बिल्ला भिराइयो” शिर्षकमा कान्तीपुर दैनिकीमा छापिएको छ । यो ऐन कानूनको बर्खिलाप छ । यो कुन ऐन कानुन अनुसार जरिवाना तिरेको हो ? सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा ३००० हजार सम्म जरिवाना गर्ने दफा १६४ को त र थ को लागि देखिदैन , तर सरकारी कार्यालयले ऐन कानून भन्दा बाहिर गई जरिवाना लिने प्रबृति देखिन्छ जुन सुशाशन प्रबृतिको विरुद्धमा छ । सवारी साधनलाई संचालन गर्ने जिम्मा पाएको ट्राफिक प्रहरीको विरुद्ध पनि धेरै गुनासाहरु चालकहरुले लगाएकाछन । ट्राफिक प्रहरीको बोली व्यवहार राम्रो भएन, जरिवानाकोलागि पासो थाप्नेकाम गर्छ, महिनावारी बुझाउनु पर्छ नत्र दैनिक संचालनमा गाहे पार्छ आदी आदी ।
ट्याक्सी चालकले गर्ने व्यवहार र ट्राफिक प्रहरी कार्यालयबाट हुने सजाय जरिवानाले मात्र यस्ता समस्याहरु सामाधान हुने देखिदैन । बर्षौ भयो यो लुकामारीको खेल न टयाक्सी चालक सजिलै सेवा दिन राजी हुन्छ न कारवाहीको संख्यामा कमी भएको छ । अव सुधारकोलागि गर्ने पाटो के हो ? यो दुरी कम गर्ने उपायहरु के के हुन सक्छन आदी कुराहरुको खोज अनुसन्धान जरुरी छ । केहि सुधारका पाटाहरु मैले यस लेख मार्फत पस्कने जमर्को गरेको छु ।
चालकले चालक भइसकेपछि आफनो ईच्छा भन्दा पनि ऐन कानून र नियमको पालना नगरि छोटोदुरीको लागि यात्री ईन्कार गर्ने, या मिटर विग्रेको वाहाना गरि बढी भाडा असुल्ने, सांझ र विहानको समय होस या कुनै चाड पर्वको समयमा चालकले दोव्वर देखी मनपरी भाडा भन्ने, कतीपय स्थानमा जान ईन्कार गर्ने, आउने जाने भाडा असुल गर्न खोज्ने प्रबृति रहन्छ तव सम्म जति कारवाही गरेपनि प्रबृति र नियतमा सुधार नहुन्जेल कारवाहीको कुनै मुल्य मान्यता देखिदैन । यसकोलागि चालकले आफु के को लागि सवारी साधन बाहिर ल्याएको ? मेरो काम के हो? ऐन कानूनले के भन्छ ? मेरो दायित्व के हो भन्ने महसुस हुदैन यो समस्या जहीको तही रहन्छ । त्यसैगरी सरकारले पनि टयाक्सी चालकहरुको समस्याको सुनुवाइ सही तरिकाले गर्ने, एउटा जिम्मेवार नागरिक सरह व्यवहार गर्ने, सुरक्षा तथा सुविधाको वारे सहजीकरण गर्ने पहल गर्नु जरुरी भएको छ ।
माथि उल्लेखित समस्याहरुको सामाधान भनेकै चालकहरुको बर्गिकरण आधार तयार गर्ने, तिनीहरुलाई ऐन कानून तथा सवारी चालक अनुमति पत्र लिनु पूर्व सडक नियम तथा दायित्वको वारे जानकारी दिने व्यवस्था गरिनु पर्छ, । यात्रीहरुलाई दुख दिने या यात्री लिन ईन्कार गर्ने, मिटरमा जान नमान्ने सवारीको नं. र चालकको सवारी चालक अनुमति पत्रमा गल्तीको प्रकृतिको रेकर्ड राख्ने चालकले गरेको गल्ती हेरी सजाय गर्ने, निलम्वन गर्ने, या दर्ता नै खारेको व्यवस्था नया आउने सवारी तथा यातायात व्यवस्था ऐनमा ल्याउन जरुरी छ ।
सडकमा खटिने ट्राफिक प्रहरीहरुपनि सडक नियम, यातायात व्यवस्था ऐन, नियमको जानकारी राख्नुपर्छ । ट्राफिक प्रहरीहरुले पनि आफू कानून लाद्न होइन की कानूनको सहजिकरण गर्न नागरिक तथा यातायात सेवा प्रदायकहरुलाई सहजीकरण गर्न हो भनि मनन गर्न जरुरी छ । यहाँ सवारी चालक र ट्राफिक प्रहरी दुवैको मनोबृतिमा सुधार ल्याउन सरकारले विभिन्न तालीमको व्यवस्था, प्रचार प्रसार, शिक्षा आदी दिन जरुरी भइसकेको छ । यात्री र सवारी साधन व्यवस्थापन गर्ने देशका ट्राफिक प्रहरी साना साना प्रलोभनबाट टाडा नरहेसम्म यो समस्या जहीको तही रहन्छ । सुखि नेपाली समृद्ध नेपालको नारालाई सार्थक बनाउने हो भने सवैतिरबाट पहल थाल्न जरुरी छ नत्र नेपाली अर्को उखान यहा सान्दार्भिक होला काग कराउदै गर्छ पिना सुक्दै गर्छ ।

प्रतिक्रिया दिनुहोस्