Logo
Logo

सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गरिने


दृष्टि संवाददाता


काठमाडौं । सरकारले वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन उनको निवासमा पुगे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले जोशीको नाममा विद्यालय स्थापना गर्न लागेको बताएका हुन् ।

विद्यालय खोल्नेबारे सरकारको आगामी वर्षको नीति, कार्यक्रममा राखिने पनि उनले बताए । कहाँ स्थापना गर्ने भन्ने हालसम्म टुंगो भने नलागेको र विद्यालयको आवश्यकता भएको तथा घनाबस्ती भएको ठाउँमा स्थापना गरिने उनले बताए । जोशीको नाममा स्थापना हुने विद्यालयलाई देशकै नमुना विद्यालयको रुपमा विकास गरिने पनि उनले बताए ।

जोशीले राष्ट्रपति भण्डारीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन मन्त्रीलाई पठाएकोमा आभार व्यक्त गरे । सरकारले आफ्नो नाममा विद्यालय खोल्न लागेकोमा हर्ष लागेको जोशीले बताए ।उनले अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्