Logo
Logo

सेना जनताको आस्था र भरोसाको केन्द्र : प्रधानसेनापति थापा


दृष्टि संवाददाता


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना जनताको आस्था र भरोसाको केन्द्र र एकताको प्रतीक रहेको बताएका छन् ।

मध्यपूर्वी पृतना मातहतका जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिकका प्रतिनिधिलाई आज बर्दिवासमा सम्बोधन गर्दै उनले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकता कायम गर्नु सेनाको परम्कर्तव्य भएको स्पष्ट पारे ।

प्रधानसेनापति थापाले भने, ‘हामी आफ्नो कर्तव्यपथमा अडिग रही संविधानले सुम्पिएको विशिष्ट जिम्मेवारी पूरा गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार छाँै र भविष्यका लागि पनि तयार रहने छाँै ।’

पुर्खाले रचेको सुनौलो र गौरवमय इतिहासलाई जीवन्त राख्न हामी समर्पित रही कर्तव्यपथमा अघि बढिरहेको बताउँदै सेनाले जनचाहनाअनुरुप परिवर्तन र परिमार्जन हँुदै आएको राज्य सञ्चालन प्रणालीलाई स्वतस्फूर्तरुपमा आत्मसात् गर्दै संविधान प्रदत्त जिम्मेवारी बहन गर्न निःस्वार्थ त्याग, बलिदान र योगदानले सेनाको विशिष्ट छवि अक्षुण्ण बनाउँदै आएको जनाएको छ ।

प्रधानसेनापति थापाले भने, ‘सेनाको भूमिकालाई अक्षुण्ण राख्ने कार्यमा भूपूसैनिकको भूमिका महत्वपूर्ण हुन्छ, अग्रज र हामीले बगाएको रगत पसिनाले राष्ट्रिय स्वाधीनता, अखण्डता कायम राख्न अहम् भूमिका खेलेको तथ्य इतिहासको पानामा स्वर्णिम अक्षरले कुँदिएका छन् ।’

हामीसँग वीरपुर्खाको त्याग, समर्पण, बलिदान, कर्तव्यपरायण, अटल राष्ट्रभक्ति, जीवन्तता र गौरवमय इतिहास रहेको उल्लेख गर्दै उहाँले हाम्रो इतिहास, गौरवमय परम्परा, उच्चस्तरको चेनअफ कमान्ड, अराजनीतिक चरित्र, एकताको भावना, अविछिन्न साङ्गठनिक लक्ष्यबाट निर्देशित रहँदै आएको बताए ।

कुशल व्यावसायिकीकरण राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा समेत भरपर्दो, विश्वसनीय र व्यावसायिक फौजका रुपमा स्थापित सेनाले राष्ट्रिय स्तरमा आर्जन गरेको उत्कृष्ट छवि र विश्वासका आधारमा सरकारले सामरिक महत्वका राष्ट्र विकास र निर्माणमा सहभागी गराउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्