Logo
Logo

उचाई नाप्दै नेप्से, साताको अन्तिम दिन १२ अंकले बढ्यो


दृष्टि संवाददाता


काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा सात अर्ब बढीको कारोबार भएको छ । यस अघि गत फागुन १६ गते अन्तिम पटक सात अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको थियो ।

बिहिबार नेप्से सूचक १२ अंकले बढेर २ हजार ६ सय ३१ बिन्दुमा उक्लेको छ । यस अघिको सर्वाधिक उचाई २ हजार ६ सय ४० बिन्दुबाट यो मात्र ९ अंक कम हो ।

सात अर्ब २५ करोड रुपैयाँको किनबेच हुँदा माथिल्लो तामाकोशीको मात्रै ३० करोड रुपैयाँको सेयर किनबेच भएको छ । एचआइडिसिएलको २४ करोड, अपि पावरको २४ करोड, पुनर्बिमाको २१ करोड र नेपाल टेलिकमको १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

अधिकांस उपसूमह हरियो भएको बजारमा व्यापार समूह सर्वाधिक ३६८ अंकले उकालो लागेको छ । अन्य समूह ६३, विकास बैंक ५२ र निर्जीवन बीमा समूह २५ अंकले उकालो लागेका छन् । होटल तथा पर्यटन, जीवन बीमा, म्याचुअल फण्ड र लगानी उपसूमह घटेका छन् ।

साञ्जेन जलविद्युत कम्पनी, युनाइटेड फाइनान्स, किसान लघुवित्त, वोमी लघुवित्त, एनआइसी एसिया लघुवित्त, अजोड इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट कम्पनी र साल्ट ट्रेडिङ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

एचआइडिसिएलको सर्वाधिक ५ प्रतिशतले मूल्य घट्दा, सानिमा जनरल इन्स्योरेन्स, चन्द्रागिरी हिल्स र समिट लघुवित्तको सेयर मूल्य ३÷३ प्रतिशतले घटेको छ। २१८ कम्पनीको एक करोड ४४ लाख कित्ता सेयर सात अर्ब २५ करोड रुपैयाँमा किनबेच भएको छ । ७४ हजार बढी कारोबार संख्या पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्