Logo
Logo

दैनिक २० किलो सुन आयात हुने


दृष्टि संवाददाता


काठमाडौं । सरकारले सुन आयातको कोटा बढाएको छ । पछिल्लो समय बजारले १० केजी सुनको माग नधानेपछि सरकारले आयात बढाएको हो ।

अब दैनिक २० किलो सुन आयात गर्न सकिने भएको छ । व्यवसायीले पटकपटक अर्थमन्त्रालय, बाणिज्य मन्त्रालयदेखि राष्ट्र बैंकसम्म पुगेर कोटा बढाउन लविङ गरेका थिए ।

वैशाखपछि विवाहको सिजन सुरु हुने भएकाले माग अझै बढ्ने भन्दै ४० किलो पुर्याउन व्यवसायीले माग गरेका थिए । गत वर्ष कोभिडसँगै लकडाउन भएपछि विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न नदिन सरकारले २० किलोको कोटालाई १० किलोमा झारेको थियो ।

कोभिडकालमा सुन प्रति तोला एक लाख रुपैयाँभन्दा माथि पुगेको थियो। मूल्य महँगिदा बिक्रीका लागि आएका गरगहनाबाट व्यवसायीले गर्जो टार्दै आएका थिए । गत मंसिरदेखि सुनचाँदी बजार चलायमान बन्दै जाँदा सुनको माग पनि बढ्दै आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सामान्यतया हाल बजारमा दैनिक २५ किलोसम्म सुन बिक्री हुँदै आएको छ । सिजनको समयमा ४० देखि ५० किलो सुनको बिक्री हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्