Logo
Logo

साढे दुई करोड नेपालीको पहुँचमा इन्टरनेट


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा साढे दुई करोड जनसंख्यामा इन्टरनेटको पहुँच पुुगेको पाइएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउन–माघ)को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार बढी जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।
गत पुस महिनाको तुलनामा माघ महिनामा छ लाख ८३ हजार बढी इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । गत पुस महिनासम्म कूल दुई करोड ४७ लाख ३५ हजार ६५० जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ ।
कूल जनसंख्याको ८४ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्यांकमा उल्लेख छ । प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर उक्त प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसंख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । माघसम्म मोबाइल इन्टरनेटको हिस्सा ६१ दशमलव ४७ प्रतिशत छ । एक करोड १३ लाख बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ६० हजार र एनसेलको २४ लाख ९१ हजार रहेको छ । त्यस्तै फोरजी प्रयोगकर्ता ७० लाख ९२ हजार र इभिडियो प्रयोगकर्ता एक लाख ३६ हजार ५७३ छन् ।
फोरजी प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलका छन् । माघ मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४३ लाख २५ हजार ९३६ रहेका छन् ।
नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २५ लाख ४४ हजार ७२४ र स्मार्ट टेलिकमका दुई लाख २२ हजार छन् । फिक्स ब्रोडब्याण्डको हिस्सा २१ दशमलव ८५ प्रतिशत छ । यसमा एडिएसएलका आठ लाख ३७ हजार र एफटिटीएच इन्टरनेट प्रयोगकर्ता ५७ लाख ६८ हजार छन् ।

प्रतिक्रिया दिनुहोस्