Logo
Logo

चाया–पोतो समस्या र उपचार


डा. रेखा थापा


सुन्दर अनुहार सबैको चाहना हो । तर, उमेर बढ्दै जाँदा छालामा विभिन्न समस्या आउन शुरु हुन्छ । अनुहारमा आउने चाया–पोतोले बढी सताउँछ । एकपटक आएपछि स्थायी उपचार गर्न गाह्रो हुने भएकाले यो समस्याबाट धेरै प्रताडित छन् ।

यो समस्या महिला र पुरुष दुबैमा हुन्छ । तर चाया–पोतोबाट महिला बढी प्रभावित हुन्छन् । यसको प्रमुख कारण हर्माेनको गडबडी पनि हो । सौन्दर्य प्रसाधनका सामग्री जथाभावी प्रयोग गर्दा छाला पातलो र संवेदनशील भई चाया–पोतोको समस्या हुन्छ ।

के हो चाया–पोतो ?
छालामा आउने खैरो, कालो दाग र धब्बालाई चाया–पोतो भनिन्छ । मेडिकल भाषामा यसलाई ‘मेलाज्मा कोलाज्मा’ भन्ने गरिन्छ । छालाको भित्री भाग ‘इपिडर्मीस’ र ‘डर्मीस’ तहको बीचमा रहेको मेलानोसाइटस् कोषिकाले ‘मेलानिन’ उत्पादन गर्छ ।

जसले छालामा रंग प्रदान गर्छ । त्यो कोषिकामा समस्या आयो भने मेलानिन धेरै उत्पादन हुन्छ । त्यो मेलानिन छालाको माथिल्लो भागमा आएर बसेपछि खैरो, कालो दागको रुपमा देखापर्छ । विशेष गरी गाला, नाक र आँखीभौं माथि कालो धब्बा बस्छ ।

कारण के हुन सक्छन् ?
अनुहारमा चाया–पोतो आउने धेरै कारण हुन्छन् । मुख्य कारण सूर्यको किरण हो । सनस्क्रिन नलगाई लामो समयसम्म घाममा रहँदा खतरनाक किरणले ‘मेलानेसाइटस्’लाई असर गर्छ र मेलानिन धेरै उत्पादन हुन्छ ।

छालाको माथिल्लो भागमा रातो, खैरोहुँदै कालो धब्बा बस्छ । महिलाहरुमा हर्माेनल पिल्सहरुको सेवनले पनि चाया–पोतो आउनेगर्छ । गर्भवती अवस्थामा पनि धेरैमा यस्तो समस्या हुने गर्छ । ग्यासट्राइटिस्, कब्जियत तथा पाठेघरको समस्याले पनि अनुहारमा चाया–पोतो देखिन्छ ।

विशेषज्ञको सल्लाह बिना छाला गोरो बनाउने जस्ता विज्ञापनको भरमा औषधिजन्य सौन्दर्य सामग्री प्रयोग गर्दा छाला पातलो र संवेदनशील भई चाया–पोतो आउँछ ।

उपचार के हुन सक्ला ?
मेलानिन उत्पादनलाई कम गर्न र छालामा जम्मा भएका अनावश्यक मेलानिनलाई हटाउन विभिन्न उपचार पदति छन् । लेजर थेरापीले छालाको भित्री भागसम्म गएर मेलानिन हटाउँछ । हाइड्रा फेसियल, केमिकल पिलिङ, मिजो थेरापी, माइक्रोनिड्लीङ, प्लाज्मा थेरापी जस्ता उच्चस्तरका मेडिफेसियलहरु डर्माटोलोजिष्ट तथा एस्थेटिसियनहरुबाट गराउन सकिन्छ । यसले छालाको माथिल्लो भागमा रहेको मेलानिनलाई कम गर्छ र प्रभावकारी हुन्छ ।

घरेलु उपचार विधि
सुन्तलाः सुन्तलामा ‘साइट्रिक एसिड’ र ‘भिटामीन–सी’ हुने भएकाले चाया–पोतो हटाउन उपयोगी हुन्छ । सुन्तलाको रसलाई वेसनको पिठोमा मिसाएर पेष्ट बनाइ हप्तामा दुई पटक लगाउने । सुन्तलाको बोक्रालाई पनि प्रयोग गर्न सकिन्छ । सुन्तला खाइसकेपछि बोक्रालाई छाँयामा सुकाउने र मिक्सरमा पिसेर धुलो बनाउने । रोज वाटरसँग मिसाई प्याक बनाउने र दैनिक प्रयोग गर्ने ।

आलुः आलुले मेलानिन उत्पादन कम गर्छ । काँचो आलु काटेर चाया–पोता आएको ठाउँमा पाँच मिनेटसम्म दल्ने । दश मिनेटपछि पखाल्ने । यसलाई हरेक दिन प्रयोग गर्ने ।

एलोभेराः एलोभेरामा छालालाई गोरो बनाउने प्राकृतिक गुण हुन्छ । एलोभेरा काटेर २० मिनेट पानीमा डुबाउने । त्यसपछि भित्रको जेल निकालेर अनुहारमा दैनिक दल्ने । यसले छालालाई हाइड्रेट र गोरो बनाउँछ ।

कफी र महः कफी र महलाई मिक्स गरी प्याकको रुपमा दैनिक प्रयोग गर्ने । प्याक लगाएर १५ मिनेट छोड्ने । त्यसपछि विस्तारै सफा गर्ने ।

टमाटर: टमाटरमा लिकोपाइन हुन्छ । यसले फोटो ड्यामेजबाट छालालाई बचाउँछ । टमाटरको रस निकालेर महसँग मिसाइ अनुहारमा लगाउने र २० मिनेटपछि पखाल्ने ।

यी घरेलु उपचारलाई कमसेकम डेढ दुई महिनासम्म लगातार प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो प्रयोगले कसैलाई एलर्जी पनि हुन सक्छ । यदि एलर्जी हुने, रातो विमिरा आउने जस्ता समस्या भए प्रयोग बन्द गर्नुपर्छ ।

ध्यान दिनुपर्ने कुरा
– घाममा निस्किनुभन्दा अगाडि कमसेकम ४० एस.पी.एफ.को सनस्क्रिन क्रिम लगाउनु पर्छ । बत्तीको प्रकाश, कम्प्युटरको रेज, आगो र ग्यासले पनि छालामा असर गर्ने भएकोले भित्रै बस्दा पनि कमसेकम १५–२० एस.पी.एफ.को क्रिम लगाउनु पर्छ ।
– स्वास्थ्य रहन दैनिक व्यायाम गर्दै सन्तुलित भोजन गर्नुपर्छ ।
– विशेषज्ञको सल्लाहबाट मात्रै सौन्दर्य प्रसाधन र औषधि प्रयोग गर्नुपर्छ ।
– घाममा निस्कदा क्याप वा ह्याट प्रयोग गर्ने । आँखा वरिपरिको छाला बचाउन सनग्लासेज् लगाउनु पर्छ ।
– सनस्क्रिन क्रिमले २–३ घण्टा मात्र काम गर्ने भएकोले २–३ घण्टामा अनुहार पुछेर फेरि लगाउनु पर्छ ।

अनुहार सबैभन्दा पहिले देखिने अंगमा पर्छ । अनुहारको सुन्दरतासँग मानिसको व्यक्तित्व जोडिन्छ । त्यसैले अनुहारको सुन्दरतामा धेरै ध्यान दिनुपर्ने हुन्छ ।

चाया–पोतो जस्ता समस्याले मानिसको सौन्दर्यमा असर पुर्याउने भएकाले विशेष हेरचाह गर्नुपर्छ । प्रस्तुत सुझावहरु प्रयोग गर्दा पनि अनुहारको चाया–पोतो कम भएन भने स्वास्थ्य तथा सौन्दर्यविज्ञसँगको सल्लाहमा उपचार गर्नुपर्ने हुन्छ ।

(लेखक कस्मेटोलोजिष्ट, एस्थेटिसियन, एरोमा थेरापिस्ट हुन् )

प्रतिक्रिया दिनुहोस्