Logo
Logo

एमाले टुटफुट हुन नदिन राष्ट्रपतिले थालिन पहल


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले टुटफुट हुन लागेको भन्दै त्यस्तो हुन नदिन पहल थालेकी छन्। यसैक्रममा उनी शनिबार एमाले वरिष्ठ नेता झलनाथ खनाल निवास पुगिन्। उनले खनालसँग आफूले एमाले एकताबद्ध भएर अघि बढेको देख्न चाहेको बताइन्। खनाल निवास डल्लुमा छ।

राष्ट्रपति भण्डारीले खनालसँगको भेटमा एमाले र कम्युनिस्ट आन्दोलन एकताबद्ध भएर अघि बढेको हेर्न चाहेको बताइन्। उनले एमाले विभाजन हुन नदिनेगरी पहलकदमी सुरु गर्नसमेत खनाललाई अनुरोध गरिन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरू माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेपछि फुटको सँघारमा उभिएको एमाले बचाउन राष्ट्रपतिले पहलकदमी थालेकी हुन्। राष्ट्रपति भण्डारी र नेता खनालबीच ४८ मिनेट कुराकानी भएको थियो।

राष्ट्रपति भण्डारी इतिहासविद् डा।महेशराज पन्तले डल्लुस्थित आफ्नै निवासमा स्थापना गरेको पुस्तकालय हेर्न दिउँसो डल्लु गएकी थिइन्। त्यहाँबाट उनी खनाल निवास गएकी हुन्।

राष्ट्रपति भण्डारीका साथमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि थिए। राष्ट्रपति भण्डारीले विभाजनको सँघारमा रहेको एमालेबारे खनालसँग चासो राखेकी थिइन्।

‘फुटको अवस्थामा पुगेको एमालेलाई एकताबद्ध बनाएर अगाडि बढाउने पहल गर्न राष्ट्रपति भण्डारीले आग्रह गर्नुभयो। उहाँले मेरो स्वास्थ्यबारे पनि सोध्नुभयो।

मैले स्वास्थ्यभन्दा पनि पार्टी र मुलुुकको राजनीतिक स्वास्थ्य बिग्रिएकोमा चिन्ता लागेको बताए,’ खनालले भने, ‘उहाँले पार्टीभित्रको समस्याबारे पनि चासो राख्नुभयो। यसलाई मिलाएर जानुपर्ने भन्दै पहल गर्न आग्रह गर्नुभयो।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्