Logo
Logo
कोरोनाको दोस्रो लहर

दैनिक धेरै कोरोना संक्रमित थपिने देशमध्ये भारत फेरि संसारकै पहिलो

नेपालमा नयाँ प्रकारको कोरोना ‘भेरियन्ट’ पुष्टि


दृष्टि संवाददाता


काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोनाभाइरस (कोभिड-१९) संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । कोरोनाको दोस्रो लहर फैलिरहेको भारतमा शनिबारमात्रै झन्डै ९३ हजार संक्रमित थपिएको त्यहाँको सरकारी तथ्यांकमा उल्लेख छ ।

योसँगै भारत संसार दैनिक धेरै कोरोना संक्रमित थपिने मुलुकमध्ये पहिलो नम्बरमा पुगेको बताइएको छ । शुक्रबार भारतमा ८९ हजार मानिसमा संक्रमण देखिएको टाइम्स अफ इन्डियाले समाचारमा उल्लेख गरेको छ ।

यति धेरै संक्रमित उक्त दिन अरू देशमा भेटिएका थिएनन्। त्यो दिन अमेरिकामा ७० हजार र ब्राजिलमा ६९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको थियो। यसअघि गत अक्टुबरमा भारतमा दिनहुँ संसारकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिन्थे।

संक्रमित थपिएसँगै भारतमा मृतकको दैनिक संख्या पनि उकालो लागेको छ। शनिबार भारतमा कोरोना संक्रमणबाट ५ सय १४ जनाको मृत्यु भएको छ। यो संख्या गत डिसेम्बर ४ यता सबैभन्दा धेरै हो। भारतका महाराष्ट्र, छत्तीसगढ, मध्यप्रदेश, गुजरात, तमिलनाडुलगायत राज्यहरूमा संक्रमण तीव्र रूपमा फैलिरहेको समाचारमा जनाइएको छ ।

नेपालमा नयाँ प्रकारको कोरोना ‘भेरियन्ट’ पुष्टि
भारतबाट आएकामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको कोरोनाको भेरियन्टबाट सङ्क्रमण भएको पुष्टि भएको हो ।

दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड पर्सन सिद्धराज भट्टले बताए ।

“शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको नतिजा आएको छ”, उनले भने, “नतिजामा कृष्णपुरका एक जनामा नयाँ प्रकारको कोरोना सङ्क्रमण देखिएको छ ।” कोरोनाको सङ्क्रमण भएका व्यक्ति घरमै आइसोलेशनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । भारतको कर्नाटकबाट फर्केका उहाँ पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भित्रिएका थिए ।

यसैगरी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म कञ्चनपुरका एकसहित डोटीको जोरायल गाउँपालिकाका एक र डडेल्धुराको परशुराम नगरपालिकाका एक जना गरी तीन जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । सबै जना घरमै आइसोलेशनमा बसेका छन् ।

भारतमा एकैदिन ९२ हजार ९९४ जनामा पुष्टि
पछिल्लो २४ घण्टामा भारतमा करिब ९३ हजार जनामा कोरोना संक्रमण पुष्टि भारतीय मिडियाले उल्लेख गरेको छ । समाचारमा जनाइए अनुसार छिल्लो पटक ९२ हजार ९९४ जना नयाँ संक्रमित फेला परेका हुन् ।

भारतमा साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि १९ सेप्टेम्बरमा ९२ हजार ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि लगातार दुई दिन पाँच सयभन्दा बढी पुगेको छ । यसअघि गत शुक्रबार ७१३ जनाको ज्यान गएको थियो ।

भारतमा हालसम्म १ करोड २४ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भारतमा कोरोनाबाट सबैभन्दा धेरै महाराष्ट्र, पन्जाब, दिल्ली, मध्यप्रदेश, गुजरात र राजस्थान राज्य प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्