Logo
Logo
सत्ता समीकरण

सरकार ढल्ने भएपछि संसद विघटन गर्ने ओलीको तयारी, माओवादी कसरी अघि बढ्ला ?

माओवादी केन्द्रको स्थायी कमिटी बस्दै


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फेरि संसद विघटन गर्ने चालमा रहेको नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले बताएका छन् । राजीनामा दिन्छु भनेर बाेले पनि ओली  फेरि संसद विघटन गर्ने चालमा हुनसक्ने नेता पुनले बताएका हुन् ।

ओलीले राजीनामा दिएर सजिलै देशलाई निकास दिनेमा शंका रहेको उनले बताए । राजनीतिमा इमानदारीता देखाएको भए ओलीले अहिलेसम्म नैतिकताका आधारमा राजीनामा दिइसक्नु पर्नेमा थियाे । तर, नैतिकहीन नेतासँग त्याे आशा गर्न नसकिने उनकाे भनाइ छ ।

माओवादी केन्द्रको स्थायी समिति बस्दै
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (आइतबार) बस्दैछ । नेता बर्षमान पुनले नयाँ सत्ता समीकरणमा कसरी अगाडि बढ्ने भन्ने बारेमा आज बस्ने बैठकमा छलफल हुने जानकारी दिए ।

आजको बैठकमा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पछि छलफल हुने पनि नेता पुनले बताए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सत्ता समीकरणका लागि जाने निर्णय गरिसकेको अवस्थामा माओवादी केन्द्रले अझैसम्मपनि ओली सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छैन ।

नेकपा माओवादी केन्द्रले आज ओली सरकारलाई दिएको समर्थन लिए नेपाली राजनीतिले नयाँ यात्रा भने तय गर्ने बताइएको छ । संविधानअनुसार ओली सरकारले समर्थन गुमाएको एक महिनाभित्र बहुमतको समर्थन पाएको सिद्ध गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री ओलीले माओवादीले समर्थन फिर्ता लिएको एक मिनेट पनि आफू पदमा नबस्ने भनेर शनिबारै एक कार्यक्रममार्फत बताएका छन् । ओलीले संसद विघटन गरेपछि नयाँ सत्ता समीकरणका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष मिलेर ओलीलाई हटाउनका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग नयाँ सत्ता समीकरणका लागि पहल गरिरहेका थिए ।

तर सर्वोच्च अदालतले एमाले र माओवादीको एकतापछि बनेको (नेकपा) लाई अवैधानिक ठहर गरी दुई पार्टीलाई ब्युँताइदिएपछि भने एकीकरणमा समस्या आएको थियो ।

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी छुट्टाइदिए पनि माओवादीले भने अहिलेसम्म ओलीलाई दिएको समर्थन फिर्ता नलिंदा पनि प्रश्न उठ्दै आएको हो ।

नयाँ गठबन्धनका लागि दलहरूबीच संवाद सुरु
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरिसकेको छ । यसबीच नयाँ गठबन्धनका लागि दलहरूबीच संवाद पनि सुरु भएको छ ।

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नयाँ सरकार गठनको अग्रसरता लिने निर्णय लिएको अर्को दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र जसपा नेताहरूसँग संवाद थालेका आजको कान्तिपुर दैनिकमा समाचार छ । दाहालले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंहलगायत नेतासँग टेलिफोन संवाद गरेका थिए ।

जसपा अझै अनिर्णीत
प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरे पनि जनता समाजवादी पार्टी (जसपा) ले स्पष्ट धारणा बनाई नसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर तत्कालै अर्को सरकार बन्ने/नबन्ने अनिश्चित छ ।

अलमलमा रहँदै आएको कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । सत्ता समीकरणका लागि कांग्रेसजत्तिकै निर्णायक हैसियतमा रहेको अर्को विपक्षी जसपा भने अझै अनिर्णीत छ ।

प्रतिक्रिया दिनुहोस्