Logo
Logo

अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर जारी गर्न नदिइने


दृष्टि संवाददाता


काठमाडौं । अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर जारी गर्न बिमा समितिले रोक लगाउने भएको छ । बीमा समितिले अजोड इन्स्योरेन्सले आईपीओ निकालेको एक वर्ष पनि नभएको हुँदा हकप्रद निष्कासन गर्न नदिने निर्णय गरेको हो ।

कम्पनीले नियामक निकायलाई जानकारी नै नदिएर हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय सार्वजनिक गरेको भन्दै बिमा समितिले सोमबार कम्पनीलाई पत्र काटेको थियो ।

अजोड इन्स्योरेन्स संचालनमा आएको तीन वर्ष भएपनि चालु आवमै आईपीओ जारी गरेको थियो । तर यति छोटो समयमा अजोडको बोर्डले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । अजोडमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारण लगानीकर्ताको सेयर छ ।

इन्स्योरेन्सको संचालक समितिको बैठकले ५० प्रतिशत हकप्रद ल्याउने निर्णय गरिसकेको छ । साधारणसभामा अजोडले ५० प्रतिशत हकप्रद निष्कासनका प्रस्ताव लैजाने भनिएको छ ।

तर उसलाई हकप्रद निष्काशनको सूचना जारी हुनु एक दिन अघि नै सुचना चुहाएर सेयर मूल्य प्रभावित पारेको आरोप छ । यस विषयमा धितोपत्र बजार नियामक नेपाल धितोपत्र बोर्डले छानबिन गर्ने र पत्ता लागे कारबाही गरिने प्रष्ट पारिसकेको छ । यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले छानबिन समिति समेत गठन गरेर छानबिन गरिरहेको जनाएको छ ।

छानबिन गर्न अर्थ मन्त्रालयको निर्देशन

सेयर बजारमा सूचना चुहाएर गत साता गरिएको अजोड इन्स्योरेन्सको सेयर कारोबार सम्बन्धमा छानबिन गर्न अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सोमबार बोर्डलाई पठाएको पत्रमा ‘भित्री सूचना चुहाएर गरिएको अजोड इन्स्योरेन्सको कारोबार सम्बन्धमा व्यापक जनगुनासो आएकाले त्यसको अध्ययन गरी अविलम्ब जानकारी गराउनू’ भनिएको छ । निर्देशनको बोधार्थ नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० लाई पनि पठाइएको छ ।

अर्थ मन्त्रालयको निर्देशनकै आधारमा धितोपत्र बोर्डले एक अध्ययन समिति गठन गरेको छ । बोर्डका निर्देशक अम्बिका गिरीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।

‘अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्कासन गर्ने सूचना सार्वजनिक हुनुअघि नै धितोपत्र कारोबारमा वृद्धि भएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचार तथा बोर्डमा प्राप्त गुनासा सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ,’ बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्