Logo
Logo

धनाढ्य सूचीको एक नम्बरमा पुन: अमेजनका मालिक, विनोद चौधरी खस्किए


दृष्टि संवाददाता


काठमाडौं । अमेजन मालिक जेफ बेजोस सन् २०२१ का विश्वकै धनी व्यक्ति घोषित भएका छन् । फोर्ब्सले प्रकाशित गरेको सूचीअनुसार यस वर्ष उनको कूल सम्पत्ति १७७ बिलियन अमेरिकी डलर पुगेको छ । गत वर्ष पनि १ नम्बरमै थिए ।

रकेट कम्पनी स्पेस–एक्स र कार उत्पादक टेस्ला कम्पनीका मालिक इलोन मस्क धनाढ्य सूचीको दोस्रो स्थानमा छन् । बेजोसको सम्पत्ति १५१ बिलियन डलर छ । फोब्र्सको ३५ औं वार्षिक सूचीमा ४९३ जना नयाँ अर्बपति थपिएका छन् । उनीहरुमध्ये २१० जना चीन र हङकङका छन् ।

सूचीको तेस्रो नम्बरमा पेरिसका लक्जरी वस्तु उत्पादक धनाढ्य बर्नान्ड आर्नोल्ट छन् । माइक्रोसफ्ट मालिक बिल गेट्स चौंथो स्थानमा छन् भने फेसबुक संस्थापक मार्क जुकरबर्ग ९७ बिलियन डलरसहित पाँचौ स्थानमा छन् ।

वारेन बफेट छैठौ, ल्यारी एलिसन सातौं, गुगल मालिक ल्यारी पेज आठौं, गुगलकै सर्जी ब्रिन नवौं र भारतीय धनाढ्य मुकेश अम्बानी ८४.४ बिलियन डलरसहित दशौं स्थानमा छन् । अम्बानी एसियाकै धनी व्यक्तिको रुपमा दरिएका छन् ।

सूचीमा रहेका एक मात्र नेपाली विनोद चौधरीको स्थान निकै खस्किएको छ । उनी गत वर्ष १५१३ स्थानमा रहेकोमा यसपालि २ हजार १४१ औं स्थानमा ओर्लिएका छन् । उनको सम्पत्ति भने १ं.४ बिलियन डलरमा स्थिर देखिएको छ ।

संसारभर २७ सय ५५ अर्बपति, १ सय ३१ खर्ब डलर सम्पत्ति

यसैबीच, फोर्ब्सको ताजा सूचीअनुसार संसारभर दुई हजार सात सय ५५ जना अर्बपति रहेका छन्। एक वर्षअघिभन्दा यो ६ सय ६० जना बढी हो। यी सबैको कुल सम्पत्ति नै १ सय ३१ खर्ब अमेरिकी डलर पुग्ने फोर्ब्सले जनाएको छ।

यीमध्ये ४ सय ९३ जना नयाँ अर्बपति बनेका छन्। हरेक १७ घण्टामा एक जना नयाँ अर्बपति बनेको फोर्ब्सले जनाएको छ। तिनमा पनि २ सय १० जना चीन र हङकङका छन् भने ९८ जना अमेरिकाका छन्। नयाँ अर्बपतिमध्ये सबैभन्दा धनी भने अमेरिकी राज्य नेवाडाकी मिरियम एडेल्सन छिन्। उनको सम्पत्ति ३८ अर्ब २० करोड डलर छ। जनवरीमा क्यासिनो बादशाहका रुपमा परिचित उनका पति शेल्डन एडेल्सनको मृत्यु भएपछि सम्पत्ति उनको नाममा आएको हो। संसार कोरोनाको चपेटामा रहँदा पनि ८६ प्रतिशत अर्बपतिको सम्पत्ति एक वर्षअघिको तुलनामा बढेको छ।

प्रतिक्रिया दिनुहोस्