५ अर्ब ८८ करोड बराबरको आईपीओ खुल्दै « Drishti News – Nepalese News Portal
Logo

५ अर्ब ८८ करोड बराबरको आईपीओ खुल्दै


दृष्टि संवाददाता


 

काठमाडौं । सेयर बजारले हरेक दिन नयाँ रेकर्ड बनाइरहेका बेला थप १६ कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् ।
सेयर निष्कासन अनुमतिका लागि ती कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् ।

सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ  । सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका १६ कम्पनीले ५ अर्ब ८८ करोड ५० लाख रुपैयाँ बराबरको ५ करोड ८८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने जनाएका छन् ।

तीमध्ये १३ वटा जलविद्युत् र ३ वटा अन्य समूहअन्तर्गतका कम्पनी छन् । जलविद्युत् कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ  ।

आवेदन दिएका जलविद्युत् समूहका कम्पनीमध्ये साहस ऊर्जा लिमिटेड, सामलिङ पावर कम्पनी, बुद्धभूमि नेपाल हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, हिमालयन हाइड्रोपावर लिमिटेड, मध्यभोटेकोसी जलविद्युत्, न्यादी हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि गरेर दुवैखाले सेयर निष्कासन गर्नेछन् । मैलुङ खोला जलविद्युत्ले भने सर्वसाधारणका नाममा सेयर निष्कासन गर्नेछ ।

जलविद्युत्बाहेक अन्य तीन कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था र डिस मिडिया नेटवर्क छन् । यी कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन अनुमति माग गरेको आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्