Logo
Logo

नेपाल पत्रकार महासंघ काठमाडौंमा सुवेदी, हुम्लामा रावत


दृष्टि संवाददाता


काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी विजयी भएका छन् । महासंघ काठमाडौँको बिहीबार राति सम्पन्न मतपरिणामअनुसार सुवेदी ७१३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा रामचन्द्र दुलाल (भाञ्जा), महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्वर गौतम, सहसचिवमा अर्जुन डोटेल र कोषाध्यक्षमा अजित अधिकारी विजयी भएका छन् ।

यसैगरी खुला सदस्यमा कमलराज राई, कृष्णप्रसाद ढुङ्गेल, कृष्णराज गौतम, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डंगोल विजयी भएका छन् ।

मधेशी सदस्यमा मीनाकुमारी यादव, दलित सदस्यमा शोभा नेपाली, समावेशी सदस्यमा दीपक काफ्ले र महिला सदस्यमा शोभा अर्याल विजय भएका छन् । देशभरको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौँ शाखाको बुधबार सम्पन्न निर्वाचनमा एक हजार २३४ मत खसेको थियो ।

नेपाल पत्रकार महासंघ हुम्ला

यस्तै, नेपाल पत्रकार महासंघ हुम्ला जिल्ला शाखाको अध्यक्षमा राजन रावत विजयी भएका छन् । बुधबार भएको निर्वाचनबाट रावत निर्वाचित भएका छन् ।

बिहीबार भएको मतगणनामा रावतले कूल खसेको २९ मतमध्ये २० मत पाएको महासङ्घ जिल्ला निर्वाचन समितिका संयोजक हरिबहादुर रावतले बताए । अध्यक्षका अर्का प्रत्यासी अर्जुन बोहराले नौ मत प्राप्त गरे ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा राजबहादुर शाही, सचिवमा नन्द सिंह, कोषाध्यक्षमा सुरेश परियार, दलित सदस्यमा दलसरा परियार विजयी भएका छन् । महिला उपाध्यक्षमा कुसुम बुढा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यसैगरी सहसचिवमा छपाल लामा र अशोक भण्डारी पनि निर्विरोध चयन भएका थिए । सदस्यमा बेलुमाया महतारा, भक्तराज ऐडी, लोग भण्डारी, दाने बोहरा, पदमराज हमाल चयन भएका छन् । उनीहरू पनि निर्विरोध निर्वाचित भएको हो । निर्वाचनमा प्रेस युनियन र प्रेस चौतारी (ओली पक्ष)बीच सहकार्य भएको हो ।

त्यस्तै केन्द्रीय परिषद् सदस्यमा जनक शाही र नवराज महतारा तथा प्रदेश परिषद् सदस्यमा कालीबहादुर थापा पनि निर्विरोध चयन भएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखामा ३३ पत्रकार आबद्ध भए पनि २९ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्