
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीको योग्यता नपुगेको निष्कर्ष निकालेको छ । यसबारे गम्भीर हुन संसदीय सुनुवाइ समितिलाई ज्ञापन पत्रसमेत बुझाएको छ ।
न्याय परिषद्ले गत २८ फागुनमा सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदीको नाम सिफारिस गरेको थियो । उनीहरुको संसदीय सुनुवाइ गर्ने तयारी छ ।
सुवेदीको योग्यता नपुगेको भन्दै समितिमा उजुरीसमेत परेको छ । सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको योग्यता नपुगेको भन्दै सुनुवाइ समितिको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएको छ । त्यसअनुसार सर्वोच्च बारले शुक्रबार समितिका सभापति लक्ष्मणलाल कर्णलाई ज्ञापनपत्र बुझाएको हो ।
संविधानको धारा १२९ को उपधारा ५ अनुसार सुवेदीको योग्यता नपुगेको र संविधानको मर्म र भावनाविपरीत उनको नाम सिफारिस भएको सर्वोच्च बारको निष्कर्ष छ । सुवेदीको नियुक्ति सिफारिसविरुद्ध सर्वोच्चमा पनि मुद्दा परेको छ ।












