Logo
Logo

छालाको दैनिक स्याहार कसरी गर्ने ?


दृष्टि संवाददाता


छाला स्वस्थ र सफा भएमात्र कोमल, मुलायम र चम्किलो हुन्छ । छाला स्वस्थ नहुँदा छालामा संक्रमण भइ सुख्खापन, डण्डीफोर, अण्डरआई डार्क सर्कल, कम उमेरमै चाउरीपन र चाया–पोतो जस्ता समस्या हुन्छ ।

छालालाई सधैँ स्वस्थ राख्न सन्तुलित भोजन, दैनिक व्यायाम तथा छालाको नियमित हेरचाह आवश्यक हुन्छ । छालाको नियमित स्याहार गर्ने हो भने आफूलाई जवान र सुन्दर राख्न सकिन्छ । छालालाई सुन्दर र आकर्षक बनाउन बजारमा धेरै सामाग्री पाइन्छ । तिमध्ये छालाको दैनिक स्याहारका लागि अत्यावश्यक र छुटाउनै नहुने केही सामाग्री छन् :

क्लिन्जर : छालाको दैनिक स्याहारमा क्लिन्जर सबैभन्दा पहिलो सामग्री हो । यसलार्ई मेकअप हटाउन, छालामा भएको तेल र फोहोर सफा गर्न प्रयोग गरिन्छ । यसले छालामा भएका छिद्रहरु खुलाई भित्रैसम्म सफा राख्छ । दिनभरीको मेकअप र छालामा टाँसिएको धुलो फोहोरलाई राती सुत्नुभन्दा अगाडि अनिवार्य धोएरमात्रै सुत्नुपर्छ । बजारमा धेरै प्रकारका क्लिन्जर पाइन्छ । तर, सबैभन्दा महत्वपूर्ण कुरा गुणस्तरीय हुनुपर्छ । साथै, छालाको प्रकारअनुसार छनोट गर्नुपर्छ ।

यदि, छाला सुख्खा छ भने ‘क्रिम क्लिन्जर’ प्रयोग गर्ने । ओइली छालाको लागि ‘फोमिङ या जेल क्लिन्जर’ प्रयोग गर्न सकिन्छ । अनुहारमा साबुन प्रयोग नगर्ने । साबुनले छालाको पी.एच. खराब गरिदिन्छ र धेरै सुख्खा हुन्छ ।

टोनर : टोनरले छालालाई टाइट, फ्रेस र कुल बनाउँछ । कम अल्कोहल प्रयोग भएको टोनर प्रयोग गर्नुपर्छ । क्लिन्जिङ पछिको स्टेप भनेको टोनिङ हो । क्लिन्जिङले छालाको छिद्रहरु खुलाइदिएको हुन्छ । त्यसैले अनिवार्य रुपमा टोनर लगाउँनुपर्छ । आवश्यक मात्रामा टोनर लगाएर औँलाले थप्थपाउने । यसलाई कपासको टुक्राले पनि लगाउन सकिन्छ । आजभोली स्प्रेमा पनि आउने भएकोले लगाउन सजिलो हुन्छ । टोनर लगाएपछि मसाज गर्नु हुँदैन । आफैँ छालामा एवजर्व हुन दिनुपर्छ । त्यसपछिमात्रै क्रिम लगाउनु पर्छ ।

मोइस्चराइजर:  छालालाई स्वस्थ राख्न मोइस्चराइजर एकदमै महत्वपूर्ण हुन्छ । यसले छालालाई नमी प्रदान गरी नरम र मुलायम बनाइराख्छ । साथै लचकता कायम राख्न मदत गर्छ । सुख्खा हुनबाट रोक्छ र चाँडै चाउरी पर्न दिँदैन । सबै प्रकारको छालालाई मोइस्चराइजर लगाउन जरुरी हुन्छ । ओइली छालाको लागि हल्का ‘वाटर वेस्ड मोइस्चराइजर’ प्रयोग गर्नुपर्छ भने सुख्खा छालाको लागि ‘हेभी मोइस्चराइजर’ प्रयोग गर्नुपर्छ । दिनमा दुईपटक बिहान र बेलुका लगाउँदा राम्रो हुन्छ । क्लिन्जिङ पछि टोनर र त्यसपछि मोइस्चराइजर लगाउनु पर्छ । मोइस्चराइजर लगाउँदा अनुहार हल्का वेटी हुनुपर्छ ।

सनस्क्रिन:  सनस्क्रिन छालाको सुन्दरताका लागि एकदमै आवश्यक छ । यसले सूर्यको ‘अल्ट्रा भाइलेट’ किरणबाट जोगाउँछ । एकपटक लगाएको सनस्क्रिनले २–३ घण्टासम्म काम गर्छ । त्यसैले अनुहार सफा गरी फेरि लगाउनुपर्छ ।

बिहान ९ बजे पछिको घाममा निस्कदा अनिवार्य ३० एस.पी.एफ.भन्दा माथिको सनस्क्रिन लगाउनुपर्छ । घर भित्रै बस्दा पनि १५–२० एसपीएफको क्रिम लगाउनु उपयुक्त हुन्छ ।
स्क्रब– स्क्रवीङले छालाको सुन्दरताका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । छालामा दैनिक रुपमा कोषिका बन्ने र मृत हुने हुन्छ । मृत कोषिकाले छालालाई नराम्रो देखाउँछ । स्क्रबले छालामा भएको मृत कोषिका हटाउँदै नयाँ सेल (कोषिका) बन्न सहयोग गर्छ । छालालाई नरम बनाउँछ । स्क्रबलाई दैनिक प्रयोग गर्नु हुँदैन ।

हप्तामा एकपटक प्रयोग गर्दा राम्रो हुन्छ । अनुहार धुने र अलिकति स्क्रब लिएर अनुहारमा लगाई गोलो–गोलो आकारमा घुमाउँदै ५ मिनेट जति मसाज गर्ने र पखाल्ने । संवेदनशील छालाको लागि स्क्रब गर्दा पोल्न सक्छ । त्यसका लागि ‘लेज वेस्ड स्क्रब’ प्रयोग गर्न सकिन्छ ।
सिरम– आजभोली बजारमा धेरै प्रकारका सिरम पाइन्छ । छालाको समस्या अनुसारको सिरम दिनमा दुई पटक लगाउँदा छालालाई रिपेयर गरी स्वस्थ बनाउँछ ।

मास्क : छाला स्वस्थ राख्न फेस मास्क पनि एउटा महत्वपूर्ण सामग्री हो । यसले छालालाई हाइड्रेट राख्छ । अनावश्यक तेललाई हटाउँछ र छिद्रलाई पनि घटाउँछ । बजारमा धेरै प्रकारका फेस मास्क पाइन्छ । त्यसैले छालाको प्रकारअनुसार मिल्ने माक्स प्रयोग गर्दा सही परिणाम पाउन सकिन्छ । यसलाई घरमै पनि बनाउन सकिन्छ । हप्तामा एकपटक फेस मास्क लगाउनु राम्रो हुन्छ ।

अनुहारलाई क्लिन्जिङ गरिसकेपछि आवश्यक मात्रामा फेस मास्क लिएर राम्रोसँग लगाउने र सुक्न दिने । सुकेपछि सामान्य चिसो पानीले पखाल्ने ।
छालाको दैनिक स्याहार गरेर छालालाई स्वस्थ राख्न सकिन्छ । व्यस्तताबाट थोरै समयमात्र छालाको स्याहारमा छुट्याउन सकियो भने छालाको समस्याबाट बच्न सकिन्छ । अनुहारको छाला सुन्दर रहे मानिसको सुुन्दरता र व्यक्तित्व आकर्षक बन्छ । आकर्षक व्यक्तित्वले मानिसको आत्मबल बढ्छ ।

(लेखक कस्मेटोलोजिष्ट, एस्थेटिसियन, एरोमा थेरापिस्ट हुन् )

प्रतिक्रिया दिनुहोस्