Logo
Logo

साताको कारोबार : सुनको मूल्य लगातार उकालो


दृष्टि संवाददाता


काठमाडौं । शुक्रबार सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ बिक्री मूल्य तोकिएको थियो । नेपाल सुनचाँदी महासंघका अनुसार यो मूल्य चैत महिनाकै महँगो हो । यसअघि सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँसम्ममा कारोबार भएको थियो ।

यस साताभरमा सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँले बृद्धि भएको छ । गत साताको शुक्रबार तोलाको ८७ हजार ४०० मा किनबेच भएको सुन त्यसयता उकालो लागेको हो । सोमबार सुन साताकै न्यूनतम भाउ ८७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चैत महिनामा मात्र सुन तोलामा तीन हजार ३०० रुपैयाँले वृद्धि भएको महासंघको तथ्यांकले देखाउँछ । गत १ चैतमा सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसपछि यस महिनाभर सुनको भाउ निरन्तर उकालो लागेको छ ।

चैत १८ गते, बुधबार भने सुन यस महिनाकै कम मूल्यमा किनबेच भएको थियो । सो दिन सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको थियो । चैत २७ गते, शुक्रबार भने तोलाको ८९ हजार ९०० रुपैयाँ तोकिएर महिनाको उच्चतम कारोबार मूल्य बन्न पुगेको छ ।

यस्तै, एक सातमा चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार चैत २७ गतेसम्ममा महिनाभरमा चाँदी १० रुपैयाँले वृद्धि भएको छ । चैत १ गते प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी महिनाभर जसो उतारचढाव देखिएको थियो ।

यस महिना चाँदी सबैभन्दा कम मूल्य प्रतितोला एक हजार १९५ रुपैयाँमा १८ चैतमा किनबेच भएको थियो भने चैत ५ गते उच्च कारोबार मूल्य एक हजार २९० रुपैयाँ रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा समेत यस साता सुनको भाउ निरन्तर उकालो लागेको छ । सोमबार प्रति अउन्स एक हजार ७३० डलरको हाराहारीमा खरिदबिक्री भएको सुन शुक्रबारसम्म आइपुग्दा करिब १४ डलरले वृद्धि भएको तथ्यांकमा देखिन्छ । बिहीबार सुन प्रति अउन्स एक हजार ७५७ डलरसम्म पुगेको थियो ।

चाँदीको मूल्य सामान्य बढेर प्रति अउन्स २५ डलर भन्दा बढिमा खरिदबिक्री भएको छ । साताभरमा चाँदीको भाउ लगातार वृद्धि भएको छ । सोमबार प्रति अउन्स २४ डलरको हाराहारीमा कारोबार भएको चाँदीको मूल्य बिहीबार २५.५७ डलरको उचाईसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्