काठमाडौं । शान्तिपूर्ण राजनीतिमा आएर गुमनाम भएपछि डा. सिके राउत के गर्दैछन् ? भन्ने प्रश्न उठ्न थालेको थियो । छुट्टै मधेश राज्यको नारासहित हिंसात्मक आन्दोलन थालेका सीके राउत गत फागुन २१ मा सरकारसँग तीन बुँदे सहमतिपछि शान्तिूपर्ण राजनीतिमा आएका हुन् । त्यससँगै राजनीति गतिविधिबाट टाडा भएका सीके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन आज शनिबार जनकपुरको हुँदैछ ।
कुनै प्रचार–प्रसारविना जनमत पार्टीको महाधिवेशन हुन लागेको हो । मूलधारको राजनीति आएसँगै राजधानीबाट हराएका उनी महाधिवेशन तयारीमा व्यस्त भएको उनी निकट एक नेताले बताए । उनले भने, ‘सीके राउत गुमनाम हुुनुभएको होइन, उहाँ महाधिवेश तयारीमा हुुनुहुन्थ्यो ।’

जनमत पार्टीको यो पहिलो महाधिवेशन हो । यसका लागि पाँच हजार प्रतिनिधि र २५ हजार भन्दा बढी स्वयंसेवक सहभागिता रहने समूहका नेता चन्दन सिंहले बताएका छन् । उनका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
महाधिवेशनका लागि भारत, अमेरिका, चीनलगायत विभिन्न ४२ वटा देशलाई जनमत पार्टीले निमन्त्रणा पठाएको थियो । ती सबै देशलाई नेपालस्थित दूतावासमार्फत पत्र पठाएको सो पार्टीले जनाएको छ ।
एक दिवसीय महाधिवेशनको उद्घाटन सत्रका लागि अन्य पार्टी, संघ, संगठनका प्रतिनिधिलाई अतिथि तथा वक्ताको रुपमा निमन्त्रणा गरिएको छैन । कार्यक्रमको प्रमुख अतिथि सिके राउत स्वयं रहने बताइएको छ । उद्घाटन सत्र सकिएलगतै आजै ३ बजेदेखि बन्दसत्र सुरु बताइएको छ ।
जनमत पार्टीको ५१ सदस्यीय केन्द्रीय कार्यसमिति हुनेछ । त्यसमध्ये अध्यक्षसहित ३९ सदस्यीय कार्यसमितिका लागि मतदान हुने जनाइएको छ । जसमध्ये १२ वटा पद मनोनित गरिने भएको छ । हालसम्म अध्यक्षमा सिके राउत र महासचिवमा चन्दन सिंहबाहेक अरुको उम्मेदवारी नपरेको बताइएको छ ।
जनकपुरको बाह्रबिघामा हुने महाधिवेशनमा सहिद परिवार, स्वराज आन्दोलनमा मुद्दा खेपेकाहरू, विभिन्न समयमा हिरासत तथा जेल भोगेकाहरुलाई अतिथिका लागि निमन्त्रणा गरिएको छ ।












