Logo
Logo
नेपालमा कोरोनाको दोस्रो लहर

सतर्कता अपनाउन राष्ट्रिय अपील, तीन हप्ता विद्यालय बन्द गर्ने तयरी


दृष्टि संवाददाता


काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ ।

सीसीएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपील गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भई आम रुपमा सतर्कता अपनाउन अपील गर्ने निर्णय भएको बताए ।

आज बसेको बैठककाे प्रस्तावमा संक्रमण बढी भएका स्थानका विद्यालय तथा क्याम्पस कम्तीमा ३ साता बन्द गर्ने तथा रात्रिकालीन व्यवसाय राति १० बजेबाट प्रतिबन्ध लगाउनेलगायत ११ बुँदा छन् । संक्रमणको अवस्था हेरेर एक स्थानीय तहबाट अर्कोमा आवागमनमा पनि कडाइ गर्ने निर्णय बैठकले गरेको छ ।

यसबाहेक जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको छ ।

सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

आज बसेको बैठकले पारित गरेको प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषद् बैठकमा लगिनेछ । त्यसपछि लागू गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्