‘म्यानमारमा सुरक्षाकर्मीबाट एकैदिन ८० जनाको हत्या’ « Drishti News – Nepalese News Portal
Logo

‘म्यानमारमा सुरक्षाकर्मीबाट एकैदिन ८० जनाको हत्या’


दृष्टि संवाददाता


काठमाडौं । म्यानमारमा सुरक्षाकर्मीबाट ८० जनाको हत्या भएको स्थानीय मिडियाले जनाएको छ । म्यानमारको राजधानी यांगुनमा सुरक्षाकर्मीले एकैदिन ८० जनाभन्दा बढीको हत्या गरेको स्थानीय मिडियाहरुले दाबी गरेका हुन् ।

यसबारे समाचार आउटलेट तथा ‘असिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनस (एएपीपी)’ नामको संस्थाले जनाएको हो । सैन्य कूविरुद्ध प्रदर्शनमा उत्रिएका ८२ जनाको सुरक्षाकर्मीले हत्या गरेको स्थानीय समाचार एजेन्सी ‘म्यानमार नाउ’ले उल्लेख गरेको छ । सेनाले प्रदर्शनकारीमाथि ग्रिनेड बन्दुक प्रयोग गरेको थियो ।

म्यानमारका स्थानीय मिडियाका रिपोर्टर तथा प्रत्यक्षदर्शीहरुका अनुसार यांगुनको उत्तरपूर्वस्थित बगो शहरमा सुरक्षाकर्मीहरुले शनिबार गरेको हत्याको संख्या सुरुमा पत्ता लगाउन सकिएको थिएन । पछि सुरक्षाकर्मीहरुले शवलाई एकमाथि अर्को खात लगाएर राखेको र त्यसलाई चारैतिरबाट घेरेको देखेको प्रत्यक्षदर्शीहरुलाई बीबीसीले उद्धृत समाचारमा उल्लेख गरेको हो ।

म्यानमार नाउका अनुसार सेनाले शुक्रबार विहानदेखि नै गोली चलाउन सुरु गरेको थियो र यो दिउँसोसम्म जारी रहेको समाचारमा जनाइएको छ । म्यानमारका सामाजिक सन्जालहरुमा लेखिएअनुसार धेरै व्यक्तिहरु आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन् ।

एएपीपीका अनुसार सुरक्षाकर्मीबाट मारिएका र गिरफ्तार गरिएकाहरुको दैनिक सूची तयार पार्ने काम भइरहेको बताइएको छ । सो संस्थाका अनुसार गत फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएयता हालसम्म ६ सय १८ जना प्रदर्शनकारीको हत्या भइसकेको छ । यद्यपि म्यानमारको सेनाले भने यो दाबीलाई अस्वीकार गरेको समाचारमा उल्लेख छ ।

म्यानमारको जुन्ता सरकारका प्रवक्ता मेजर जनरलले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा सेनाको तर्फबाट २ सय ४८ जना नागरिक र प्रदर्शनकारीबाट १६ जना प्रहरी मारिएको बताए।प्रदर्शनकारीमाथि कुनै प्रकारको स्वचालित हतियार प्रयोग नगरिएको समेत दाबी गरेको छ ।

गत फेब्रुअरीमा सेनाले म्यानमारको स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएको थियो । गत नोभेम्बर महिनामा भएको चुनावमा सुकीको पार्टीले धाँधली गरेर जितेकाले सत्ता हातमा लिएको सेनाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्