काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले विद्यालयहरु बन्द होइन, सुरक्षा अपनाएर सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । कोरोनाभाइरसको संक्रमण बढेको भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तीमा तीन साता विद्यालय बन्द गर्न सिफारिस गरेपछि प्याब्सनले ध्यानाकर्षण जनाउँदै यस्तो जनाएको हो ।

आइतबार प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण गरेको हो । यसअघि करिब नौ महिना गरिएको बन्दाबन्दीले विश्वका कतिपय मुलुक सँगसँगै नेपालको स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, आर्थिक क्षेत्र र रोजगारीको क्षेत्रलगायत जनजीविकाको विभिन्न पक्षमा पारेको प्रभावले नेपाली जनताले अनुभूत गरिसकेका जनाउँदै प्याब्सजने बन्दाबन्दी मात्र संक्रमण रोकथामको उपाय नभएको प्रमाणित भइसकेको जनाएको छ ।
प्याब्सनको विज्ञप्तिमा विद्यालय बन्द नगरी संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिनुपर्नेमा जोड दिइएको छ । विगतको बन्दाबन्दीपश्चात विद्यालय सञ्चालन गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल समेत गरि तयार गरेको कार्यढाँचाअनुसार शिक्षालयहरूका गतिविधिहरु सञ्चालन गर्न सान्दर्भिक भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आवश्यकता अनुसार शिक्षालयहरूमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दुरीको व्यवस्थापन जस्ता कार्यहरु सरकारका सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुन्छ । शिक्षालयहरूमा कार्यरत शिक्षक–कर्मचारीहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध तुरुन्तै गर्न नेपाल सरकारसँग हाम्रो अनुरोध छ ।’
आ–आफ्ना बालबालिकाहरूलाई संक्रमणबाट जोगिन मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, भौतिक तथा सामाजिक दुरीको अवलम्वनका साथै स्वास्थ्यवर्धक खानपिन गराउने जस्ता कार्यहरुमा सहयोग पु–याईदिनुहुन समेत अभिभावकमा प्याब्सनले अनुरोध गरेको छ ।
‘मुलुकभर कोरोना संक्रमणको वृद्धि दर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरी अत्यन्त आवश्यक भए सम्बधित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्र केही निश्चित समयका लागी मात्र प्रतिबन्धात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सृजना गरिदिनुहुन नेपाल सरकार सँग माग गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।
‘नेपालको भौगोलिक विकटता, अभिभावकहरुको आर्थिक तथा सामाजिक अवस्था, इन्टरनेटको उपलब्धताको अभाव, शिक्षकहरुको प्राविधिक दक्षताजस्ता कारणले नेपालको सामुदायिक तथा सार्वजनिक शिक्षालयमा मात्र नभएर निजी शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुको पनि ५० प्रतिशत क्षेत्र अनलाईन शिक्षाले समेट्न नसक्ने कुरा विगतको बन्दाबन्दीमा गरिएको प्रयोगले प्रमाणित गरि सकेको छ’ विज्ञप्तिमा भनिएको छ ।
प्याब्सनले कोरोना संक्रमण र यसको प्रभाव न्यूनीकरणका लागि नेपाल सरकारले तयार गरेको स्वास्थ्य सावधानीसम्बन्धी उपायहरूलाई हरेक क्षेत्रमा कडी कडाउका साथ लागु गर्न गराउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका सम्बन्धित निकायहरूलाई जिम्मेवारीसहित सक्रिय बनाउनु अहिलेको प्राथमिकता भएको जनाएको छ ।













