Logo
Logo

कोरोनाको दोस्रो लहरः गम्भीर विरामीको संख्या बढ्दै


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरसँगै सङ्क्रमण दरले पुनः गति लिन थालेको छ । पछिल्लो एक सातामा कोरोनाले गम्भीर बिरामी हुनेको सङ्ख्या बढ्न थालेको छ । केही दिनयता सङ्क्रमितको सङ्ख्या तीन सयभन्दा बढी देखिएको छ ।

भारतमा पछिल्ला दिनमा दैनिक एक लाख ५० हजारभन्दा बढी सङ्क्रमित हुँदा एक हजारको हाराहारीमा मृत्यु भइरहेको छ । नेपालमा पनि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुले खतराको सङ्केत गरेको चिकित्सकहरूको भनाइ छ ।

नेपालमा पछिल्ला दिनमा सङ्क्रमण सङ्ख्या विस्तारै उकालो लाग्दै गएको छ । दैनिक सङ्क्रमण मात्रै होइन सक्रिय सङ्क्रमित, आईसीयूमा भएका बिरामी र भेन्टिलेटरमा रहेका बिरामीको सङ्ख्या पनि बढेको छ ।

देशभर थपिएका नयाँ सङ्क्रमितको सङ्ख्या ३६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि शनिबार ३६३ जना सङ्क्रमित थपिएका थिए । मन्त्रालयका अनुसार देशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ९६१ जना पुगेको छ । केही दिनअघि मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या सात सयमा झरेको थियो । गत बुधबार सक्रिय सङ्क्रमित दुई हजार २०१ पुगेका थिए ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा सङ्क्रमितको सङ्ख्या मात्रै नथपिएको भन्दै गम्भीर प्रकृतिका बिरामी पनि बढ्दो क्रममा रहेको जानकारी दिए । एक साताअघि कोरोना सङ्क्रमणले गम्भीर अवस्थामा पुगेका ४७ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा रहेकामा सो सङ्ख्या बढेर आईसीयूमा पुग्ने सङ्क्रमितको सङ्ख्या ६५ र भेन्टिलेटरमा जानेको सङ्ख्या १३ पुगेको थियो ।

आइतबारको तथ्याङ्कअनुसार आईसीयूमा ८९ र भेन्टिलेटरमा १५ जना छन् । नेपालमा दोस्रो चरणको नयाँ भेरियन्ट आएको र युवा पुस्तालाई समेत गाह्रो पार्न थालेकाले पनि कोरोनाले थप चिन्ता बढाएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

टेकु अस्पतालका चिकित्सक डा. पुनका अनुसार थोरै लापरबाहीले मुलुकको भविष्य गम्भीर अवस्थामा पुग्न सक्छ । उनले कोरोना सङ्क्रमण नियन्त्रणमा आउन लाग्यो भनिरहेका बेला पुनः उचाइ लिन थालेकाले सचेत हुन आग्रह गरे । पछिल्लो एक साताकै तथ्याङ्क हेर्ने हो भने कोरोनाकै कारण गम्भीर बिरामी हुनेको सङ्ख्या विस्तारै बढेको छ ।

दैनिक सङ्क्रमणसँगै सक्रिय सङ्क्रमित, आईसीयूमा भएका बिरामी र भेन्टिलेटरमा रहेका बिरामीको सङ्ख्या पनि बढ्दो क्रममा देखिएको छ । एक साताअघि कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेका ४७ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा रहेकामा तीन दिनपछि नै सो सङ्ख्या बढेर आईसीयूमा पुग्ने सङ्क्रमितको सङ्ख्या ६५ र भेन्टिलेटरमा जानेको सङ्ख्या १३ पुगेको छ।

आइतबारसम्म आउँदा आईसीयूमा जानेको सङ्ख्या ८९ जना र भेन्टिलेटरमा पुग्नेको सङ्ख्या १५ पुगेको छ । मास्क लगाउने, भीडभाडमा नजाने, हात बेलाबेलामा धुने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी अपनाउने हो भने पनि कोरोनाबाट बच्न सकिन्छ । आजको गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्