Logo
Logo

मध्यरात अर्काको घरभित्र पसेको चोर बिहानसम्म मस्त ओछ्यानमा !


दृष्टि संवाददाता


थाइल्याण्ड । अर्काको घरमा प्रवेश गरेको चोरले प्राय अरुले थाहा नपाई सामान कुम्ल्याएर भाग्ने गर्छन् । तर थाइल्याण्डमा एउटा घरमा चोरीका लागि पसेको चोर भने बिहानसम्म सोही घरमै आनन्दले बसेको अनौठो घटना सार्वजनिक भएको हो ।

२२ मार्चको रात फेचाबुन प्रान्तको विचेनबुरी जिल्लाको एउटा घरमा चोर पसेको थियो । राति करिब दुई बजे घरभित्र प्रवेश गरेको उक्त चोर बिहानसम्म सोही घरमा मस्तसँग ओछ्यानमा सुतिरहेको अवस्थामा फेला परेको थाइल्याण्डका सञ्चारमाध्यममा उल्लेख छ ।

उक्त घर एक प्रहरी अधिकारीकै रहेको बताइएको छ । घरको एउटा ‘बेड रुम’ मा प्रवेश गरेको चोरले एअरकन्डिसन र आरामदायी ओछ्यान पाएपछि केहीबेर सुत्ने निधो ग¥यो ।

थाइ सञ्चारमाध्यमका अनुसार उक्त कोठा ती प्रहरी अधिकारीको छोरीको रहे पनि उनी भने घरमा थिइनन् । तर छोरी नभए पनि कोठाभित्र एसी चलिरहेको देखेपछि ती प्रहरी अधिकारीले झ्यालबाट चिहाउँदा चोरलाई सुतिरहेको अवस्थामा फेला पारेका हुन् ।

उक्त चोरलाई प्रहरीले नियन्त्रणमा लिएर चोरी तथा अर्काको घरमा गैरकानुनी रुपमा प्रवेश गरेको कसुरमा कानुनी कारवाही प्रक्रिया अघि बढाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्