Logo
Logo

अर्थतन्त्रको पुनरुत्थानलाई बजेटमा पहिलो प्राथमिकता


दृष्टि संवाददाता


काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रको पुनरुत्थान नै सरकारको पहिलो प्राथमिकता भएको बताएका छन । विश्व बैंकले सोमबार आयोजना गरेको नेपाल डेभलपमेन्ट अपडेट २०२१ सार्वजनिक गर्दे उनले उक्त धारणा राखेका हुन् ।

नेपालले गत वर्षदेखि नै कोभिड–१९ प्रभावित आर्थिक गतिविधिहरूलाई असरका आधारमा प्राथमिकीकरण गरी पुनरुत्थानका प्रोत्साहन तथा अन्य उपायहरू लागू गरेको उनको भनाई थियो । आफू निजी क्षेत्रसँग नजिक रहेर काम गरिरहेको भन्दै मन्त्री पौडेलले आर्थिक गतिविधि पुनरुत्थानका लागि निजी क्षेत्र र सरोकारवालाका सुझावलाई गम्भीरताका साथ लिएको बताए ।

उनले विश्व बैंकले कम आर्थिक बृद्धिको प्रक्षेपण गरेको पनि बताए । सरकारले गरेको प्रक्षेपणभन्दा कम विश्व बैंकले प्रक्षेपण गरेको उनको भनाई छ । नेपालको अर्थतन्त्र लयमा फर्किन सुरु भएको भन्दै उनले बैंकको प्रतिवेदनले पनि नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको उल्लेख गरेको धारणा राखेका थिए । तर, बैंकले गरेको आर्थिक बृद्धिको प्रक्षेपण भने थोरै रहेको उनको भनाइ थियो ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटको तयारीमा सरकार रहेको भन्दै प्रतिवेदनमा समावेश गरिएको सुझावलाई ध्यान दिइने बताए । मन्त्री पौडेलले आगामी बजेट कोभिड १९ बाट प्रभावित अर्थतन्त्रलाई उकास्न केन्द्रित हुनेमा पनि जोड दिए । पछिल्लो राजनीतिक गतिविधिका कारण अर्थतन्त्र प्रभावित हुन सक्ने विश्व बैंकको आशंका प्रति मन्त्री पौडेलले त्यस्तो शंका नगर्न पनि भनेका छन् ।

विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद जारर्भोजले नेपालको हरित, भरपर्दो र समावेशी विकासलाई समर्थन गर्न सरकारले योजनाबद्ध सुधारहरुलाई स्वागत गर्ने बताए । उनले भने,‘हामी यस प्रयास अझ विशेष गरी दिगो र भरपर्दो पुनरुत्थानलाई सहयोग पुर्याउन नेपालको निर्यात सम्भाव्यतालाई हासिल गर्न सहयोग पुग्ने लगानीका लागि सरकार र विकास साझेदारहरूसँग निरन्तर सहकार्यको लागि तत्पर छौं ’ ।

बैंकले सन् २०२१ मा नेपालको अर्थतन्त्र २ दशलमव ७ प्रतिशतले वृद्घि हुने प्रक्षेपण गरेको थियो । पछिल्लो समय मनसुनमा देखिएको अनुकूलताका कारण कृषि उत्पादन पनि राम्रो हुने अपेक्षा बैंकको छ । प्रकोप पछिको पुुनःउत्थानलाई तिव्रता दिन र नेपाललाई हरित, भरपर्दो र समावेशी विकासतर्फ अगाडि बढाउन निर्यात दरिलो प्लेटफर्म हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

नेपाली अर्थतन्त्रमा रेमिटेन्सले ठूलो सहयोग गरेको उनले बताए । कोभिड असरलाई न्यूनीकरण गर्न सरकारले सीमित घेरामा बसेर राहत कार्यक्रम ल्याए पनि त्यसले राम्रो काम गरेको उनको भनाई थियो ।

त्यसैगरी उक्त प्रतिवेदनमा नेपालसँग ९ अर्ब अमेरिकी डलर बराबरको निर्यात सम्भावना उपयोग नै हुन नसकेको उल्लेख गरिएको छ । व्यापार पूर्वाधारमा सुधार, भन्सारजन्य र गैर–भन्सारजन्य अवरोध न्यूनीकरणबाट नेपालले निर्यात बढाउन सक्ने बताइएको छ ।

निर्यात प्रवद्र्धनका लागि आवश्यक मध्यवर्ती कच्चा वस्तुको आयातमा समेत अवरोध गर्दै विश्व बैंकले कोभिड–१९ ले शिथिल अर्थतन्त्रलाई गति दिन उत्पादन र रोजगारीको अवस्थामा सुधार गर्दै निर्यात बढाउन सिफारिश गरिएका सुझावहरू लागू गर्न सक्ने बताएको छ ।

उक्त कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्यालले निर्यात विस्तार गर्ने पक्षलाई उत्पादन, आपूर्ति श्रृंखला, प्रतिस्पर्धी उत्पादन लागत लगायत अन्य सुधारहरूलाई समग्रमा एकसाथ अघि बढाउनुपर्नेमा जोड दिए । उनले उत्पादन, आपूर्ति श्रृंखला र निर्यात विस्तारमा प्रविधि परिचालन (लेभरेज) गर्ने क्रमलाई प्राथमिकता दिएको भन्दै यसको उच्चतम प्रयोग गर्न सरकारले कानूनी र संस्थागत पूर्वाधार तयार गर्दै लगेको जानकारी दिएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाली अर्थतन्त्र ’यु’ सेपमा सुधार भएको बताएका थिए । उनले आगमी वर्ष नेपालले दोहोरो अंकको वृद्धि हासिल गर्ने बताए । ’कोभिड प्रभावमा ९५ प्रतिशत उद्योग बन्द रहेको र त्यसे अवस्थामा पनि नेपालमा महत्वपूर्ण वस्तु तथा सेवाको आर्थिक क्रियाकलाप जारी नै राखेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्