Logo
Logo

नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत, निर्यात क्षमता ११ खर्ब पुग्ने


दृष्टि संवाददाता


काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २।७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ ।

नेपाल विकास अपडेट प्रतिवेदनको पछिल्लो संस्करण सार्वजनिक गर्दै विश्व बैंकले हालभन्दा १२ गुणा निर्यात हुन सक्ने उल्लेख गरेको हो । २० वर्षअघिसम्म निर्यात स्थिति सन्तोषजनक रहे पनि त्यसयता खस्किँदै गएको उल्लेख छ ।

खस्किँदो निर्यात बढाएर अर्थतन्त्र गतिशील बनाउन नेपालले बलियो पहलकदमी नलिएको प्रतिवेदनमा औंल्याएको छ । सामाजिक दूरी मापदण्ड खुकुलो हुने र अनुकूल मनसुन हुने अपेक्षासहित आर्थिक वर्ष २०७७÷७८ मा २.७ प्रतिशतले नेपालको अर्थतन्त्र विस्तार हुने प्रतिवेदनमा ठहर गरिएको छ ।

विश्व बैंकका अनुसार दक्षिण एसियामा ४० वर्षपछि पहिलोपटक सबैभन्दा धेरै आर्थिक संकुचन देखिएको छ । कोभिडपछि नेपाली अर्थतन्त्र निरन्तर खुकुलो गर्दै लगिएको, सामाजिक दूरी मापदण्ड र प्राथमिकता प्राप्त जनसंख्यामा खोप लगाउने कार्य हुनु सकारात्मक भएको बैंकको भनाइ छ ।

पछिल्लो समय मनसुनमा देखिएको अनुकूलतामा कारण कृषि उत्पादनसमेत राम्रो हुने अपेक्षा बैंकको छ । नेपालको उपयोग गर्न सक्ने सम्भावित निर्यात क्षमता ९।२ अर्ब अमेरिकी डलर अर्थात् करिब ११ खर्ब रुपैयाँबराबर रहेको विश्व बैंकले नेपाल विकास अपडेटमा उल्लेख गरेको छ । यो जारी वार्षिक निर्यात व्यापारको १२ गुणा हो ।

विश्व बैंकका वरिष्ठ अर्थशास्त्री तथा नेपाल विकास अपडेट प्रमुख डा. केने इजेमेनारीका अनुसार निर्यात क्षमताले उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण प्रभावसहित अनुमानित २ लाख २० हजार नयाँ रोजगारी सिर्जना गर्ने अवसरको प्रतिनिधित्व गर्दछ ।, यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्