Logo
Logo

कोरोना त्रासः विद्यालय तत्काल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाई


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमण बढे पनि शैक्षिकलगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भए पनि अझै केही दिनको ‘ट्रेन्ड’ हेरेर मात्र थप रणनीति तय गर्ने निर्णय भएको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले भने केही साता विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्ले स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

मास्क अनिवार्य गर्ने, भिडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने विषयमा बैठकमा छलफल भएको छ । स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड मंगलबार सार्वजनिक गरिने सञ्चारमन्त्री पार्वत गुरुङले बताए ।

पछिल्लो समय कोरोना संक्रमणबाट बालबालिका धेरै प्रभावित भइरहेका छन् । तर, विद्यालय तथा कलेजले सतर्कता अपनाउनुको सट्टा लापरबाहीसमेत गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सोमबार संक्रमण देखिएका पाँच सय ५९ मध्ये २४ जना १८ वर्षमुनिका छन् । आइतबार यो उमेर समूहका २७ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो १० दिनमा दुई सय ८० बालबालिकामा संक्रमण देखिएको छ । सोमबार संक्रमण देखिएका बालबालिकामा सबैभन्दा कम उमेर पाँच वर्षका एकजना र सबैभन्दा बढी १७ वर्ष उमेरका पाँचजना छन् । त्यस्तै, २८ चैतमा ५२ बालिबालिकामा, २७ चैतमा ३४, २६ चैतमा ५१, २५ चैतमा २५, २४ चैतमा २६, २३ चैतमा १६, २२ चैतमा १४ र २१ चैतमा ११ बालबालिकामा संक्रमण देखिएको छ ।, यो समाचार आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्