Logo
Logo

कोरोना रोकथामका लागि स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड आज सार्वजनिक गरिने


दृष्टि संवाददाता


काठमाडौं । सरकारले नेपालमा कोरोना संक्रमणको दर बढेपनि शैक्षिकलगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अझै केही दिनको ‘ट्रेन्ड’ हेरेर मात्र यस सम्बन्धी थप रणनीति तय गर्ने निर्णय गरेको हो ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) र स्वास्थ्य मन्त्रालयले भने केही दिन अघि नै कम्तिमा तीना साता विद्यालय बन्द गर्न प्रस्ताव गरेका थिए। तर मन्त्रिपरिषद्को बैठकले भने स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने, तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार मास्क अनिवार्य गर्ने, भिडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने विषयमा बैठकमा छलफल भएको उनले जानकारी दिए । स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड भने आज (मंगलबार) सार्वजनिक गरिने सञ्चारमन्त्री पार्वत गुरुङले बताए ।

सोमबार शिक्षा मन्त्रालयले पनि विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा सुझाब लिन सरोकारवाहरुसँग छलफल भएको थियो । उक्त छलफलमा पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाब दिएपछि मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

उनीहरुले संविधानले नै माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै दिनुपर्नेमा जोड दिएका थिए।

संक्रमणबाट बालबालिका प्रभावित
पछिल्लो समय कोरोना संक्रमणबाट बालबालिका धेरै प्रभावित बनेका छन्। संक्रमणकै कारण केही बालबालिकाको मृत्युसमेत भइसकेको खबर सार्वजनिक भएको छ।

सोमबार संक्रमण देखिएका पाँच सय ५९ मध्ये २४ जना १८ वर्षमुनिका रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सोमबार संक्रमण देखिएका बालबालिकामा सबैभन्दा कम उमेर पाँच वर्षका एकजना र सबैभन्दा बढी १७ वर्ष उमेरका पाँचजना छन्।

त्यस्तै, २८ चैतमा ५२ बालिबालिकामा, २७ चैतमा ३४, २६ चैतमा ५१, २५ चैतमा २५, २४ चैतमा २६, २३ चैतमा १६, २२ चैतमा १४ र २१ चैतमा ११ बालबालिकामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्