Logo
Logo

बालुवाटारमा बसेर तस्करी


दृष्टि संवाददाता


काठमाडौं । बालुवाटारमा बसेर प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगड सुपारी तस्करीमा संलग्न भएका छन् । हालै उनले आफूनिकट झापाका पाँच जना व्यापारीलाई सुपारी आयात गर्ने अनुमति दिएका छन् । विदेशबाट आयात हुने सुपारी नेपालमा खपत हुने भन्दा बढी भारतमा तस्करी हुने गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार, यस वर्षको २५ हजार टन सुपारी कोटामध्ये सबैभन्दा बढी झापा बिर्तामोडका प्रदीप मित्तलले १० हजार टन सुपारी आयातको अनुमति पाएका छन् । त्यसैगरी गोविन्द सरियाले ५ हजार टन, विराटनगरमा प्रदीपकुमार मुरारका र दिनेश राठीले २ हजार ५ सय टनका दरले आयात अनुमति पाएका छन् । मित्तल, सरिया, मुरारका र राठी झापाका सुपारी तस्कर दीपक पोखरेल समूहका हुन् । त्यसमध्ये कोटाको २५ हजारमध्ये २० हजार टन पोखरेलले मात्र पाएको विभागले जनाएको छ ।

सौर्य एअरलाइन्सका सञ्चालक दीपक पोखरेल समूहले विगतदेखि नै इन्डोनेसिया र थाइल्यान्डबाट आयात सुपारी नेपालमा उत्पादित भन्ने नक्कली कागजात र उत्पत्तिको प्रमाणपत्र बनाएर भारततर्फ निर्यात गरेर अर्बौ कमाएका छन् । सरकारले चार महिनाका लागि २ करोड २७ लाख किलो सुपारी आयातको कोटा तोकेको छ । जबकि, आर्थिक वर्ष २०७६/७७ मा २९ लाख ६२ हजार किलो मात्रै सुपारी आयात भएको छ । अझ आर्थिक वर्ष २०७५/७६ मा करिब ११ लाख २८ हजार ३ सय ११ किलो मात्रै सुपारी आयात भएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्