Logo
Logo

एक वर्षमा तीन हजार ५८ को मृत्यु, आगामी वर्ष ४० लाख जनालाई संक्रमण हुने प्रक्षेपण


नवीन राई


काठमडौं । नेपालमा एक वर्षमा दुई लाख ८० हजार ७२ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । ०७६ चैत्र ३० गते बुधबारसम्म नेपालमा कोरोना संक्रमितको १२ मात्रै थियो ।

०७७ चैत्र ३१ गते मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ९ सय ८४ पुगेको हो । ०७७ वैशाख एक गते दुई जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै एक वर्षमा नेपालमा कोरोनाबाट तीन हजार ५८ जनाको मृत्यु भएको छ । आज मंगलबार मात्रै नेपालमा पाँच सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले २०७६ चैत ११ गते कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन घोषण गरेको थियो । लकडाउन घोषण गर्दा नेपालमा नेपालमा दुई जनालाई मात्र कोरोना देखिएको थियो ।

करिव ४ महिनापछि साउनमा लकडाउन खुल्ला गरियो । लकडाउन खुल्ला गरेपछि नेपालमा कोरोनाको ग्राफ निरन्तर बढ्यो । भदौ, असोज र कात्तिक महिनामा कोरोना संक्रमण उच्चतम विन्दुमा पुग्यो ।

फागुन लागेसँगै कोरोना संक्रमण कम हुँदै गएको थियो । ०७७ को अन्त्यसँगै कोरोना संक्रमण समेत अन्त्य हुने अपेक्षा गरियो । तर, त्यसको ठीक विपरीत संक्रमण झन् उकालो लाग्ने क्रममा छ ।

चैत लागेसँगै संक्रमणको दोस्रो लहर शुरू भएपछि स्वास्थ्य मन्त्रालय पुनः संक्रमण नियन्त्रणमै जुुट्नु परेको छ । नयाँ प्रजातीको संक्रमण बढ्दै जाँदा जोखिम पनि थपिँदै गएको छ । मन्त्रालयले जेठ–असारमा कोरोना संक्रमण उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरिसकेको छ ।

जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरेको हो । यसै प्रक्षेपणलाई आधार मान्ने हो भने आगमी एक वर्षमा ४० लाखभन्दा बढीलाई कोरोना संक्रमण हुने देखिन्छ ।

अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

कोरोना तीव्ररुमा बढीरहे पनि यसपालि गत वर्षजस्तो कोरोनाको त्रास छैन । मास्क लगाउने, साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्नेलगायत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न छाडिएको छ । यसले कोरोना संक्रमितको संख्या झनै बढ्ने सम्भावना देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्