Logo
Logo
कोरोना संक्रमण

नेपालमा पनि भेटियो डबल म्युटेन्ट भेरियन्ट

के हो डबल म्युटेन्ट भेरियन्ट ?


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा नयाँ कोरोना भेटिन थालेको छ । ललितपुरका एक व्यक्तिमा ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस पुष्टि भएको छ । ललितपुरका ती व्यक्तिको स्वाब एक महिना अगाडि संकलन गरिएको थियो ।

‘नेपालमा नयाँ प्रजातिको भाइरस फैलिएको आशंकामा तीन हप्ताअघि ‘जिन सिक्वेन्सिङ’ को लागि नमुना बाहिर पठाएका थियौं,’ इपिडिमियोलोजीका प्रमुख डा. कृष्णप्रसाद पौडेलले भने, ‘ललितपुरका डबल म्युटेन्ट भेरिएन्ट पुष्टि भएकाति व्यक्ति सम्पर्कमा छैनन्, हकङकबाट रिपोर्ट आउन ढिला भयो, अब हामी भोलिदेखि ति र उनको सम्पर्कमा आउनेका यात्रा इतिहास पत्ता लगाउँछौं ।’

नेपालले तीन हप्ताअघि हङकङमा १५ वटा नमुना परीक्षणका लागि पठाएको थियो । १५ वटा नमुना मध्ये एक जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको होे ।

हङकङमा एस जिन नेगेटिभ भएका १० र ५ वटा पीसीआर पोजेटिभ भएका नमुना जिन सिक्वेन्सिङका लागि हङकङ पठाइएको थियो ।
काठमाडौंका ४, भक्तपुरका २, कास्कीका २, नुवाकोटका १ जनामा ‘युके भेरियन्ट’ पुष्टि भएको छ । संक्रमण पुष्टि हुने अधिकांश २१ देखि ५९ वर्ष उमेर समूहका रहेको डा. पौडेलले बताए ।

के हो डबल म्युटेन्ट भेरिएन्ट ?

अरु भाइरस जसरी नै कोरोना भाइरसको स्वरुपमा पनि एउटा मान्छेबाट अर्कोमा सर्दै जाँदा ससानो परिवर्तन आइरहेको हुन्छ ।
तर यस किसिमका परिवर्तनले प्रायः भाइरसको व्यवहारमा ठूलो प्रभाव पार्दैन । यसमा केही म्युटेसनले चाहिँ भाइरसको ‘स्पाइक प्रोटिन’ मा बदलाव ल्याउन सक्छ ।

स्पाइक प्रोटिनलाई भाइरसले मान्छेमा संक्रमित गर्न सेल भित्र प्रवेश गर्न प्रयोग गर्ने गर्दछ । त्यसैले यस्ता प्रकारका भाइरस सम्भावित रुपमा अरु भन्दा संक्रामक हुन सक्छन् र गम्भीर बिरामी पार्न सक्छन् या खोपले पनि यसमाथि काम नगर्न सक्छ ।

भारतको हटस्पट महाराष्ट्रबाट संकलन गरिएको स्याम्पलमा गत डिसेम्बरको तुलनामा ‘इ४८४क्यु’ र ‘एल४५२आर’ म्युटेसनको मात्रा बढी रहेको पाइएको हो । स्वास्थ्य मन्त्रालयले भनेको छ, “यस किसिमको डबल म्युटेसनले शरीरको प्रतिरोधात्मक प्रहारबाट भाइरसलाई बचाउन सक्छ र संक्रमण स्तर वृद्धि गराउन सक्छ । ”

लुसियाना स्टेट युनिभर्सिटीका भाइरोलोजिस्ट डाक्टर जेरेमी कमिलका अनुसार इ४८४क्यु म्युटेसन इ४८४के सँग मिल्दोजुल्दो छ जुन यसअघि दक्षिण अफ्रिका र ब्राजिलमा छुट्टाछुट्टै फेला परेका परिमार्जित कोरोना भाइरस हुन् । यसरी भाइरस पर्याप्त रुपमा परिमार्जित हुन सक्ने हो भने त्यसले फरक किसिमले काम गर्न सुरु गर्नेछ र चिन्ताजनक भेरिएन्ट बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्