Logo
Logo

विद्युत खरिद गरी आयात गर्न स्वीकृति


दृष्टि संवाददाता


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गरी आयात गर्न स्वीकृति पाएको छ । भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत खरिद गरी आयात गर्न सक्ने गरी स्वीकृति दिएको हो ।

बिद्युत प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेकाले यो नेपालको ऊर्जा विकासको लागि महत्वपूर्ण कार्य भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन ।

प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको विद्युत बिक्रीको स्वीकृतिका लागि भारतमा प्रस्ताव पठाएको थियो । प्राधिकरणले पहिलो चरणमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाबाट विद्युत बर्षाको समयमा उत्पादन हुने बिजुली बिक्रीका लागि भारतसमक्ष प्रस्ताव गरेको थियो ।

सुक्खा मौसम र पानी नपरेका कारण खोलामा पानीको वहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको विद्युत उत्पादन उल्लेख्य मात्रामा घटेकाले विद्युत माग र आपूर्तिको व्यवस्थापनमा चाप परेको छ । भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गर्न स्वीकृति पाएकाले तत्काल ३० मेगावाट खरिदको प्रक्रिया अगाडि बढाएको पनि प्राधिकरणले बताएको छ ।

प्राधिकरणले एनटीपीसी विद्युत निगम लिमिटेड,पावर ट्रेड कम्पनी, बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्य सरकारका वितरण कम्पनीसँग विद्युत खरिद गर्दै आएको छ । अब भारतीय बजारबाट सोझै आवश्यकता अनुसार विद्युत खरिद गरी आयात गर्न सकिने भएको छ ।

यो वर्ष पानी पनि नपरेको र प्रदुषण लगायतका कारणले हिउँ पनि नपग्लिएकाले वैशाख सुरु हुँदासमेत खोलामा पानीको वहाव बढ्ेको छैन । जस्को कारण विद्युत माग बढेको तर आन्तरिक उत्पादन घटेका कारण आपूर्तिका लागि भारतबाट थप विद्युत आयात गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको प्राधिकरणको भनाई छ ।

प्राधिकरणको तथ्याङअनुसार चैतमा अर्धजलाशययुक्त विद्युतगृहबाट औसतमा दुई सय मेगावाट, जलाशययुक्त कुलेखानीबाट ६० मेगावाट र निजी क्षेत्रका विद्युत गृहहरुबाट २ सय मेगावाट विद्युत उत्पादन भएको छ ।

भारतबाट ७ सय १० मेगावाट आयात गरिएको छ । प्रणालीमा विद्युतको उच्चतम माग १ हजार ४ सय ६३ मेगावाट, औसत माग १ हजार १ सय ५० मेगावाट पुगेको छ ।

यो माग पूर्ति गर्न प्राधिकरणका विद्युत गृहहरुबाट अधिकतम ३ सय ४० मेगावाट, कुलेखानीबाट १ सय ३ मेगावाट, निजी क्षेत्रका विद्युत गृहबाट २ सय मेगावाट र भारतबाट अधिकतम ७ सय ८० मेगावाट आयात गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्